`

बुद्धचित्त चोरेको आरोपमा उपाध्यक्ष सम्बाहाम्फेको जवाफ- ‘एक इन्च दायाँबायाँ गरेको छैन’

Nepal One HD २८ कार्तिक २०८३ १४:०२
अन्तर्वार्ता/बिचार

पाँचथरको तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्ग सम्बाहाम्फेमाथि बहुमूल्य बुद्धचित्त चोरीको आरोप लागेको छ । यसअघि एक जना किसानको रुद्राक्षमा विष छर्किदिएको आरोप लागेको थियो र ती किसान र सम्बाहाम्फेबीच जिल्ला अदालत पाँचथरमा मिलापत्र भइसकेको छ ।

तर, यसपटक भने बुद्धचित्त चोरीको आरोप लाग्यो । बुद्धचित्त फलाएका घरका मानिसहरूले उपाध्यक्ष सम्बाहाम्फेले नै चोरेको आशंका व्यक्त गरेको भिडियोमा देखिन्छ र सम्बाहाम्फेले भने सिधै इन्कार गरेका छन् ।
जनताले गाउँपालिकाको समृद्धि र विकासको नेतृत्व गरुन् भनेर निर्वाचनबाट चुनेका उपाध्यक्ष सम्बाहाम्फेमाथि यस्तो आरोप किन लाग्यो ? कि उनले बुद्धचित्त चोरेकै हुन् ? यसबारे उपाध्यक्ष सम्बाहाम्फेसँग गरिएको टेलिफोन संवाद प्रस्तुत छ।

तपाईँ तुम्बेवा गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ। तपाईँमाथि बुद्धचित्त चोरीको आरोप लागेको छ। के हो यो?

यो सरासर झुट हो ।

कसरी झुट हो? तपाईँ बुद्धचित्तको बोट आसपास हुनुहुन्थ्यो र तपाईँको मोटरसाइकल त्यहाँ पार्किङ गरिएको थियो भनेर बुद्धचित्त धनीले भनेका छन् नि !

बुद्धचित्तको बोटनजिक पक्की बाटोमा मेरो मोटरसाइकल पार्किङ भएको थियो भन्दैमा कुनै मान्छे चोर प्रमाणित कसरी हुन्छ ? त्यो त होइन नि ।

तपाईँ मोटरसाइकल पार्किङ गरेर बोटतिर पनि जानुभएको थियो भन्ने सुनिन्छ नि?

बोटमा होइन, घरमा गइयो । परिवारका सबैसँग बसियो । उहाँहरूले रुद्राक्ष फलेको ११ मुखे, ९ मुखे अनि ज्वाला पनि देखाउनुभयो टाँडदेखि झिकेर । अनि, पछिल्लो लटमा लैजाउँला भनेर उहाँलाई नै हातमा दिएँ । उहाँले लुकाउनुभयो । अनि, उहाँहरूको बगानमा भएको बुद्धचित्तको सानो विरुवा जुन भर्खर फल्न थालेको छ र अघिल्लो साल मैले नै किनेर २० हजारमा लगेको उहाँहरूबाटै । यसपाल फल्यो कि फलेन ? किन दिनु भएन ? भनेर मैले रेला ठट्टा पनि उहाँहरूसँग गरेँ । त्यो घरको आमा, दुई जना बहिनी, दुई जना भाइ, एक जना उहाँहरूको ज्वाइँ र एक जना नानी हुनुहुन्थ्यो । हामीसँगै बसेर बोट हेर्यौँ । हेरेपछि बुद्धचित्तको फेदफेदमा भएको काँडा छास्नुपर्छ भाइ, फागुन अन्तिमतिरसम्ममा त पात झरेर पनि पाउलिन्छ, फुल्छ र राम्रो उत्पादन दिन्छ । यसरी छास्नु है भनेँ । त्यो भाइको अनुमतिले सुकेको र तल (फेद)को काम नदिने हाँगाहरू उसकै अगाडि काटेको हो ।

तपाईंले चोरी गर्नु भएको चाहिँ होइन ?

कसरी त्यो चोरेको हुन्छ ? दिउँसो सबै परिवार भएको बेलामा गएर चोरेको हुन्छ ? त्यो प्रमाणित हो ? त्यो एकदम गलत नियत छ । राजनीतिक पूर्वाग्रही र व्यक्तिगत चरित्रहत्या गर्न सुनियोजित ढंगले प्रचार भएको छ ।

तपाईंमाथि यसअघि पनि रुद्राक्षको बोटमा विष छर्केको आरोप लागेको थियो । केही त गडबडी पक्कै होला नि ?

कस्तोलाई गडबडी भन्ने ? पहिले रुद्राक्षमा विष हान्यो भन्ने आरोप थियो । मैले मानमर्दनको मुद्दा जिल्ला अदालतमा दायर गरेँ । जसले मलाई आरोप लगाउनुभएको थियो, उहाँले जिल्ला अदालतमै मैले गलत गरेछु भनेर माफी माग्नुभयो । केही व्यक्तिहरूको उक्साहवटमा मैले यसो गरेछु, मिल्नुपर्छ, मैले पनि अञ्जानमा गरेछु भन्ने हिसाबबाट भनेपछि हामी मिलेर आएका छौँ । त्यो मिलापत्र जिल्ला अदालतको मेलमिलाप केन्द्रमा छ । मसँग एकप्रति छ ।
अब यसरी बारम्बार पूरै अपराध गरे जसरी बदनियतपूर्ण ढंगले पिछा गर्ने, खुट्टा तान्ने र राजनीतिक हिसाबले पछि पार्न सकिन्छ भनेर यस्तो प्रचार गरिएको हो, त्यो बाहेक केही पनि होइन । यसमा केही सत्यता छैन । यदि सत्य हो भने कानुन छ त । छानबिन गर्नु, अवलोकन गर्नु, मुचुल्का उठाउनु, पोस्ट भएको फोटो र भिडियो होलान् । हामी जनप्रतिनिधि पनि कानुनकै मातहत हुन्छौँ । म कानुनअनुसार अदालतले निर्णय गरेको कुरामा सहमत छु ।

खासमा तपाईंलाई गाउँपालिकाको समृद्धि र विकासको नेतृत्व गरुन् भनेर निर्वाचनबाट जनताले चुनेका हुन् तर जनताकै बुद्धचित्त चोरीको गम्भीर आरोप लाग्यो, अब तपाईं निष्पक्ष छानबिनको लागि तयार हुनुहुन्छ ?

एकदम, छाती खोलेर तयार छु । म जनतालाई के भन्न चाहन्छु भनेमलाई तुम्बेवा गाउँवासीले अमूल्य मत दिएर जनप्रतिनिधिको रुपमा चयन गरेका हुन् । म उहाँहरूको सदैव मत, अभिमत र विश्वासको सम्मान गर्छु । जनता सँधै मभन्दा माथि छन् र कानुनको निर्णयलाई म सधैँ मान्छु । म एक जना राजनीतिकर्मी, जनप्रतिनिधि र सँगसँगै कृषक पनि हुँ । मेरो घरमा आउनुभयो भने २ हजार जति बुद्धचित्त, रुद्राक्ष, सन्तला, कागतीजस्ता विभिन्न जातका फलफूलका नर्सरी देख्नुहुन्छ । मेरो दुईवटा बगान छ । त्यो दिन पनि बगानमा छिरेर गोडमेल गरेर गएको थिएँ । यसबारे अनुसन्धान गर्न सक्नुहुन्छ । कुन कुन गोड्नुभयो ? कुन कुन काट्नुभयो ? कस्तो कस्तो सिन्का छ ? जुन भिडियो देखाइएको छ, त्यहाँ छ ।
मलाई बहुत दुःख लागेको छ । मेरो मानमर्दन र चरित्रहत्या भएको छ । यसको लागि म कानुनी बाटो पनि अपनाउने मनसायमा छु । यसमा कुनै सत्यता छैन । मैले आफूजस्तै सम्झेँ । सँधै गइरहेको, पहिलोचोटी गएको भए पो । घरधनी आमालाई सोधे हुन्छ कि गत वर्ष क्यूरआर र नगद गरी २० हजार तिरेर ल्याएको थिएँ । पछि परिवारको कुनै सदस्यसँगै गएर त्यो घरमा सरिपा खाएर आएँ । पानी मागेर खाएर खाएँ ।

दायाँबायाँ गर्नु भएको छैन ?

कुन चिज ? एक इन्च दायाँबायाँ गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *