`

मिठाई ठानेर बारुद भरिएको डल्लो खाँदा युवकको मृत्यु

Nepal One HD २८ कार्तिक २०८३ १४:०९
अपराध

काठमाडौं । भारतको मध्यप्रदेशमा रसगुल्ला ठानेर बारुद भरिएको विस्फोटक पदार्थ मुखमा राख्दा विस्फोट भएर एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मध्यप्रदेशको डिन्डोरी जिल्लास्थित पडरिया छान्टा गाउँमा भएको घटना  हो । ३५ वर्षीय राजेन्द्र बरौतिया परिवारसँग घरको आँगनमा आगो तापिरहेका बेला गाउँकै रामभगत बरौतिया त्यहाँ पुगेका थिए । कुराकानीका क्रममा उनले राजेन्द्रलाई रसगुल्ला भन्दै एउटा डल्लो खान दिएका थिए ।

मिठाई ठानेर राजेन्द्रले उक्त वस्तु मुखमा राखेर टोक्नेबित्तिकै विस्फोट भएको थियो । विस्फोटबाट उनको मुख र बंगारामा गम्भीर चोट लागेको थियो । परिवारले तत्काल अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त डल्लो जङ्गली सुँगुर मार्न प्रयोग गरिने बारुद भरिएको घरेलु विस्फोटक पदार्थ थियो । स्थानीय क्षेत्रमा यस्ता विस्फोटक पदार्थ पिठोका डल्लामा बारुद भरेर बनाउने गरिएको र ती रसगुल्लाजस्तै देखिने बताइएको छ ।

घटनामा मुख्य आरोपित रामभगत बरौतियासहित विस्फोटक पदार्थ उपलब्ध गराएको आरोप लागेका अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ तथा विस्फोटक पदार्थसम्बन्धी कानुनका दफा ३ र ४ अनुसार मुद्दा अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले विस्फोटक पदार्थ कहाँबाट ल्याइएको थियो र राजेन्द्रलाई मिठाई भन्दै किन दिइयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

साथै, घटना नियोजित हत्या थियो वा कुनै मजाकका क्रममा भएको दुर्घटना भन्नेबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *