ओली र देउवा जोगाउने रणनीतिको अडिओ सुनियो : गगन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता विवादमा चलखेल भइरहेको भन्ने विषयमा सार्वजनिक भएको अडिओ प्रकरणबारे मुख खोलेका छन् । उनले विभिन्न अडिओ सुन्ने र त्यसकै पछि लाग्ने काममा आफूलाई रुचि नभएको बताएका छन् ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले केही दिनअघि चीनसँग सम्बन्धित अडिओ सार्वजनिक भएको प्रसंग उठाए । त्यसअघि प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले बोलेको भनिएको अडिओसमेत आफूलाई सुनाउन ल्याइएको उनले खुलासा गरे ।
‘अस्ति चाइनाको अडिओ हामीले सुनिहाल्यौँ । मलाई अडिओको बारेमा पनि धेरै रुचि छैन। त्योभन्दा दुई–तीन दिन अगाडि प्रधानमन्त्री कार्यालयको एकजना वरिष्ठ साथीले बोलेको अडिओ एकजना साथीले मलाई ल्याएर सुनाउनुभयो । अडिओ बाहिर नलैजाने शर्तमा भन्नुभयो। तर मैले अडिओको धन्दामा रुचि नै छैन भनेँ,’ थापाले भने ।
उनका अनुसार उक्त अडिओमा नेकपा एमालेमा केपी शर्मा ओलीलाई र कांग्रेसमा शेरबहादुर देउवालाई कुनै पनि हालतमा कायम राख्ने रणनीतिबारे कुरा गरिएको सुनाइएको थियो ।
‘अडिओमा अस्ति चाइनामा बोलेको जस्तै सुनेको जस्तै दुईवटा कुरा गर्ने रे, नेकपा एमालेमा जसरी हुन्छ केपी ओलीलाई कायम राख्ने र कांग्रेसमा जहाँबाट हुन्छ शेरबहादुर देउवा खोजेर राख्ने रे,’ थापाले बैठकमा भने ।
थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पटक–पटक आफ्नो धारणा स्पष्ट पारिसकेको उल्लेख गर्दै अब यस विषयमा धेरै अलमलिन आवश्यक नरहेको बताए ।
उनले नेता तथा कार्यकर्तालाई अदालतको निर्णय र प्रक्रियालाई ध्यानमा राखेर अघि बढ्न आग्रहसमेत गरे ।
