`

एनपीएललाई ‘होम एन्ड अवे’मा लैजाने तयारी

Nepal One HD ८ मंसिर २०८३ १५:०७
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आगामी संस्करणहरूमा आफ्नै घरेलु मैदानसहित सञ्चालन गर्ने तयारी अघि बढेको छ । यसै विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् ।

सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा लैजान आवश्यक खेल पूर्वाधार, रंगशालाको अवस्था, लगानी र लिज प्रक्रियाबारे विचारविमर्श हुनेछ । टोलीका सञ्चालकहरूसँग उनीहरूलाई आवश्यक पर्ने घरेलु मैदानको स्वरूप, पूर्वाधारको वर्तमान अवस्था र अपेक्षाबारे जानकारी लिइनेछ । त्यसकै आधारमा रंगशाला निर्माण तथा स्तरोन्नतिको योजना अघि बढाउने सरकारको तयारी छ ।

यसअघि सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र प्रतियोगितालाई घरेलु मैदानमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानीको ढाँचा, निजी क्षेत्रलाई जग्गा लिजमा उपलब्ध गराउने प्रक्रिया र पूर्वाधार निर्माणका प्राविधिक मापदण्डबारे छलफल गरिएको थियो ।

बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउने, आधारभूत संरचना तयार पार्ने र निश्चित सर्तसहित निजी क्षेत्रलाई लिजमा दिने विकल्पबारे पनि विमर्श भएको थियो । अर्को विकल्पका रूपमा सरकारी जग्गा निजी क्षेत्रलाई लिजमा उपलब्ध गराएर निर्माण तथा सञ्चालनको जिम्मेवारी दिने विषय उठाइएको थियो । सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर खेलकुद पूर्वाधार विस्तार गर्न सकिने मन्त्री पोखरेलको धारणा थियो ।

सोमबारको छलफलमा एनपीएलको छैटौँ संस्करणसम्म प्रतियोगितालाई ‘होम एन्ड अवे’ ढाँचामा सञ्चालन गर्ने लक्ष्यका व्यावहारिक र प्राविधिक पक्षसमेत केलाइएको थियो । क्रिकेट मैदानमा रिभ्यु प्रणालीलगायत आधुनिक प्रविधि जडान तथा सञ्चालन गर्न ठूलो खर्च लाग्ने भएकाले आठवटै मैदानमा एकैपटक अत्याधुनिक सुविधा उपलब्ध गराउनु चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको थियो । त्यसैले ठूला सहरबाट सुरु गरेर आवश्यक पूर्वाधार र प्रविधि क्रमशः विस्तार गर्ने विकल्पमा पनि छलफल भएको छ ।

मन्त्री पोखरेलले यसै साता फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग प्रत्यक्ष छलफल गरी उनीहरूको आवश्यकता बुझ्ने र रंगशाला लिजको प्रक्रिया अघि बढाउने बताएका थिए । मंगलबारको बैठकलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ । टोलीहरूको सुझाव र आवश्यकताको मूल्याङ्कनपछि घरेलु मैदान निर्माण तथा व्यवस्थापनको थप खाका तयार हुने अपेक्षा गरिएको छ ।

एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएका छन् । लगातार एउटै मैदानमा प्रतियोगिता सञ्चालन हुँदै आएपछि अब विभिन्न सहरमा खेल विस्तार गर्नुपर्ने र प्रत्येक टोलीलाई आफ्नै घरेलु मैदान उपलब्ध गराउनुपर्ने बहस सुरु भएको हो ।

तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए । उनले फ्लडलाइटको व्यवस्थासहित रातिमा समेत खेल सञ्चालन गर्न सकिने रंगशाला बनाउने योजना सार्वजनिक गरेका थिए ।

सरकारको यो तयारी सफल भए एनपीएल एउटै मैदानमा सीमित रहने छैन । विभिन्न सहरमा खेल आयोजना हुँदा स्थानीय दर्शकले आफ्नै सहरको टोलीलाई मैदानमै पुगेर समर्थन गर्ने अवसर पाउनेछन् । त्यसले क्रिकेटको लोकप्रियता विस्तार गर्नुका साथै खेल पर्यटन, स्थानीय व्यवसाय र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *