बालेनको भारत भ्रमण : पुरानै योजना, नयाँ प्रचार
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को भारत भ्रमण सकिएको छ । भ्रमणका क्रममा विकास सहायता, ऊर्जा, पूर्वाधार, यातायात र व्यापारसँग सम्बन्धित विभिन्न समझदारी भएका छन् । दुई देशबीच २४ बुँदे संयुक्त वक्तव्यसमेत जारी भएको छ । तर भ्रमणका उपलब्धि केलाउँदा एउटा जिज्ञासा उब्जिएको छ– नेपालले नयाँ के पायो र वर्षौंदेखि थन्किएका विषयलाई फेरि औपचारिकता दिने काम मात्रै भयो ?
भैरहवा हवाई रुटदेखि रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनसम्मका विषय लामो समयदेखि नेपाल-भारतबीच छलफलमा रहेका हुन् । कतिपय योजना निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने केही कार्यान्वयनको अन्तिम चरणमा छन् । अहिले तिनै विषयलाई प्रधानमन्त्रीको भ्रमणसँग जोडेर उद्घाटन र हस्तान्तरण गरिएको छ । पुराना योजनाले गति लिनु आफैँमा नराम्रो होइन, तर वर्षौंसम्म अल्झिएका सहमति कार्यान्वयनमा पुग्नुलाई नयाँ उपलब्धि भनेर प्रचार गर्नुको सट्टा विगतमा किन ढिलाइ भयो भन्ने विषयमा पनि समीक्षा हुनुपर्ने हो ।
यसको एउटा उदाहरण रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन हो । भारतको रक्सौलदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइन निर्माण गर्ने अवधारणामाथि वि.सं. २०५२ सालतिरै छलफल सुरु भएको थियो । २०६० सालमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि प्रारम्भिक अध्ययनको काम अघि बढ्यो । २०७० सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा परियोजना निर्माणलाई अगाडि बढाउने सहमति भयो ।
२०७२ सालमा निर्माण सम्झौता भए पनि भूकम्प र सीमा अवरोधका कारण काम प्रभावित भयो । २०७४–२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शिलान्यास भएपछि निर्माणले गति लियो । २०७६ सालमा पहिलो चरणको निर्माण सम्पन्न भई पाइपलाइनबाट डिजेल आयात सुरु भयो । त्यसपछि पेट्रोल र मट्टीतेलसमेत ल्याउन अमलेखगन्ज डिपोमा थप भण्डारण ट्याङ्की र आवश्यक पूर्वाधार निर्माण गरियो । २०८१ सालदेखि पेट्रोल र मट्टीतेलको नियमित आयात पनि सुरु भइसकेको थियो । अहिले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा दोस्रो चरण औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
अर्थात्, यो भ्रमणले तीन दशक पुरानो अवधारणालाई जन्म दिएको होइन, लामो समयदेखि अघि बढिरहेको परियोजनालाई औपचारिकता दिएको हो । परियोजनाको उपयोगिता र यसको कार्यान्वयन महत्त्वपूर्ण भए पनि यसलाई नयाँ योजनाको सुरुवातजस्तो देखाउनु तथ्यसँग मेल खाँदैन ।
भैरहवा हवाई रुटको विषयमा पनि यस्तै अवस्था छ । काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ । यो नेपालको हवाई सम्पर्क विस्तारका लागि महत्त्वपूर्ण हुन सक्छ । तर यसअघि पनि नेपालले विभिन्न हवाई प्रवेश मार्ग खोल्न भारतसँग पटकपटक छलफल गर्दै आएको थियो । यसपटकको सहमतिअनुसार प्राविधिक परामर्श र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै मार्ग सञ्चालनमा आउनेछ । त्यसैले सहमति हुँदैमा भैरहवा विमानस्थलले तत्काल अन्तर्राष्ट्रिय उडानको ठूलो लाभ पाउने अवस्था बनिसकेको छैन ।
भ्रमणका क्रममा भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यसमध्ये ५ हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार ४ सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋण हो । पुनर्निर्माण, पूर्वाधार र ऊर्जा क्षेत्रमा सहयोगको घोषणा हुनु महत्त्वपूर्ण भए पनि ऋण र अनुदानको प्रकृति फरक हुन्छ । ऋण लिएपछि त्यसको सदुपयोग, प्रतिफल र भुक्तानीको दायित्व नेपालकै काँधमा आउँछ । त्यसैले ठूलो रकमको घोषणालाई मात्र उपलब्धि मानेर पुग्दैन, कुन आयोजनामा कति रकम खर्च हुन्छ र त्यसले देशको उत्पादन तथा आम्दानीमा कस्तो योगदान पुर्याउँछ भन्ने स्पष्ट हुनुपर्छ ।
भ्रमणका क्रममा अयोध्या–जनकपुर रेल सेवा सञ्चालन, दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन, लोअर अरुण जलविद्युत् आयोजनाको शिलान्यास, झापामा पेट्रोलियम टर्मिनल निर्माण तथा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणाजस्ता विषय पनि अघि आएका छन् । यी परियोजनाले भविष्यमा नेपाललाई लाभ दिन सक्छन् । तर घोषणा, शिलान्यास र निर्माण सम्पन्न हुनु तीन फरक अवस्था हुन् । विगतका कैयौँ परियोजना सहमति भएर पनि वर्षौंसम्म अलपत्र परेको अनुभव नेपालसँग छ । त्यसैले यसपटकका प्रतिबद्धता समयमै कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने नै मुख्य परीक्षा हुनेछ ।
तर भ्रमणको सबैभन्दा चासोको विषय भने सीमा विवाद, व्यापार घाटा र जलस्रोतको उपयोगजस्ता राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएका मुद्दा हुन् । संयुक्त वक्तव्यमा सीमा स्तम्भको मर्मतसम्भार तथा बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूले काम गर्ने उल्लेख छ । तर कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताजस्ता विवादित क्षेत्रको समाधानका लागि कुनै नयाँ राजनीतिक सहमति भएको देखिँदैन । सन् १९५० को सन्धि पुनरावलोकन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषयमा पनि ठोस प्रगति सार्वजनिक भएको छैन ।
भ्रमणबारे जानकारहरूले पुराना सहमति अघि बढाइनुलाई सकारात्मक माने पनि कार्यान्वयनमा विगतकै जस्तो ढिलाइ दोहोरिन नहुने औँल्याएका छन् । भैरहवा हवाई रुटको सहमतिले वास्तविक लाभ दिन भारतले आफ्नो आकाश प्रयोगको अनुमति दिनुपर्ने र अन्तर्राष्ट्रिय जहाजलाई सहज रूपमा अवतरण गर्न सक्ने व्यवस्था हुनुपर्ने उनीहरूको धारणा छ । पञ्चेश्वर परियोजनामा पनि पुरानै प्रतिबद्धता दोहोरिएको भन्दै कार्यान्वयनको ठोस आधार खोजिएको छ । दुईतिहाइ बहुमत नजिकको सरकारले सीमा र राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राख्नुपर्ने आवाजसमेत उठेको छ ।
नेपालको जलविद्युत् व्यापारमा पनि भारतसँग थुप्रै समस्या छन् । चिनियाँ संलग्नता भएका आयोजनाको बिजुली खरिदमा देखिने भारतीय नीतिगत अवरोध, प्रसारण लाइन निर्माणमा हुने ढिलाइ र बंगलादेशमा विद्युत् निर्यातका लागि आवश्यक सहजीकरण नहुनु नेपाली पक्षका पुराना गुनासा हुन् । अलैँची, अदुवा र चियाजस्ता नेपाली उत्पादन भारतीय बजारमा पुर्याउँदा भन्सारबाहेकका अवरोध सामना गर्नुपरेको विषय पनि वर्षौंदेखि उठ्दै आएको छ । यी समस्याको समाधानबिना व्यापार विस्तारको घोषणा मात्रै पर्याप्त हुँदैन ।
यसरी हेर्दा बालेनको भारत भ्रमणमा विकास सहयोग र पूर्वाधारका केही नयाँ घोषणा भएका छन् भने पुराना परियोजनाले पनि औपचारिकता पाएका छन् । तर नेपालले लामो समयदेखि उठाउँदै आएका सीमा, सन्धि पुनरावलोकन, जलस्रोत र व्यापारका जटिल विषयमा निर्णायक प्रगति देखिएको छैन ।
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दाबी गरिरहँदा नेपालका पुराना मुद्दाको सम्बोधन कहिले र कसरी हुन्छ भन्ने जिज्ञासा भने अझै बाँकी छ ।
