बालेनको भारत भ्रमणमा ठूलो उपलब्धि देखेनन् भारतीय प्राध्यापक मुनीले
काठमाडौं । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई औसत उपलब्धिको भ्रमणका रूपमा व्याख्या गरेका छन् । उनले भ्रमणका क्रममा कुनै ठूलो उपलब्धि वा महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल नभएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहको दुईदिने औपचारिक भारत भ्रमण सम्पन्न भएपछि सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै मुनीले भ्रमणको बाहिरी प्रस्तुति र प्रतिबद्धता आकर्षक भए पनि ठोस उपलब्धिका हिसाबले अपेक्षित स्तरमै सीमित रहेको बताएका हुन् ।
उनका अनुसार भ्रमणको बाहिरी आकर्षण, प्रचारप्रसार र गरिएका प्रतिबद्धता उत्कृष्ट देखिए पनि त्यसले कुनै ठूलो कूटनीतिक उपलब्धि हासिल गर्न सकेन । यद्यपि, भ्रमणका क्रममा भएका सहमति र प्राप्त मूर्त परिणाम दुवै देशका लागि स्वीकार्य रहेको उनको विश्लेषण छ ।
मुनीले लेखेका छन्, ‘बालेनको भारत भ्रमण बाहिरी आकर्षण (अप्टिक्स) र वाचाका हिसाबले उत्कृष्ट रह्यो, ठोस विषयवस्तुमा अपेक्षित स्तरकै रह्यो । यसमा कुनै ठूलो ब्रेकथ्रु भएन, तर मूर्त परिणामहरू दुवै पक्षलाई स्वीकार्य खालका रहे ।’
भ्रमणका क्रममा नेपाल र भारतले सार्वजनिक गरेको दीर्घकालीन भिजन डकुमेन्ट ‘समृद्ध नेपाल, समुन्नत भारत’ माथि पनि मुनीले टिप्पणी गरेका छन् । उनले उक्त दस्तावेजलाई भारतको कूटनीतिक रणनीतिको एउटा औजारका रूपमा व्याख्या गरेका छन् ।
उक्त दीर्घकालीन योजनाको वास्तविक प्रभाव भने त्यसको कार्यान्वयनमा निर्भर रहने उनको भनाइ छ । आगामी दिनमा विकसित हुने राजनीतिक परिस्थिति र दुई देशबीचको सम्बन्धले नै उक्त दस्तावेजको प्रभावकारिता निर्धारण गर्ने मुनीको विश्लेषण छ ।
