दशौँ राष्ट्रिय खेलकुदको तयारीले गति लियो, प्रदेश रङ्गशाला सरकारलाई हस्तान्तरण
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण कम्पनीले सोमबार प्रदेश सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिताको तयारीले थप गति लिने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको आधुनिक रङ्गशाला लामो समयदेखि प्राविधिक मूल्याङ्कन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण अल्झिएको थियो। एमएसी/जीएसएल जेभीले निर्माण गरेको रङ्गशाला निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको थियो। करिब तीन करोड रुपैयाँ अन्तिम भुक्तानी तथा प्राविधिक मूल्याङ्कनको विषयले हस्तान्तरण प्रक्रिया लम्बिएको थियो।
करिब १० हजार दर्शक क्षमताको रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, आठ लेनको एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आर्ट्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएका छन्। साथै खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल कक्ष, फिजियोथेरापी कक्ष, भीआईपी प्यारापिट र भूमिगत पार्किङलगायतका सुविधा उपलब्ध छन्।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मंसिर १६ गते यही रङ्गशालामा हुनेछ भने प्रतियोगिता मंसिर ८ गतेदेखि सुरु हुने तालिका छ। मंसिर २७ गते समापन समारोहसमेत यहीँ आयोजना गरिनेछ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। ३२ खेलका ३८४ इभेन्ट्समा करिब ६ हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई व्यवस्थित बनाउन खेलस्थल, खेलाडी आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। यससँगै रङ्गशालालाई राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन, समापन तथा प्रमुख खेल सञ्चालनको केन्द्र बनाइएको छ।
रङ्गशाला हस्तान्तरणसँगै प्रदेश सरकारसामु प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने मात्र नभई त्यसपछि पनि पूर्वाधारको नियमित सञ्चालन र संरक्षण गर्ने चुनौती थपिएको छ। डेढ अर्बभन्दा बढी लगानीमा निर्माण भएको संरचनालाई नियमित प्रशिक्षण, खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्र बनाउन सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।
दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि खेलकुद प्रतियोगितामा सीमित नभई प्रदेशको पर्यटन, संस्कृति, स्थानीय उत्पादन र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत बन्ने अपेक्षा गरिएको छ।
