`

सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

Nepal One HD ७ मंसिर २०८३ १७:१६
खेलकुद

काठमाडौं। सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ गतेदेखि आयोजना हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता माघ १ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ।

अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको विजेता टोलीले २१ लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ११ लाख एक रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार राखिएको छ। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

आयोजक क्लबका महासचिव प्रकाश शाहीले प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिएका छन्। क्लबका अध्यक्ष योगेन्द्र चन्दका अनुसार सुदूरपश्चिममा फुटबलको विकास, स्थानीय प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ।

यस संस्करणलाई विगतभन्दा थप व्यवस्थित र भव्य बनाउने आयोजकको तयारी छ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र टोलीको सहभागिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास गरिएको छ।

खप्तड गोल्डकपले सुदूरपश्चिममा फुटबलको माहोल विस्तार गर्नुका साथै खेलकुदमार्फत प्रदेशको पर्यटन र आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *