हसिनाको गृहजिल्लामा अवामी लिगको तोडफोड र आगजनी
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका नेता तथा कार्यकर्ताले आइतबार उग्र प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका छन्।
हसिनाको समर्थनमा सडकमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको अवरोध तोड्दै सहरमा जुलुस निकालेका थिए। उनीहरूले प्रहरीका गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्याउनुका साथै सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा रहेको हादी चोकको नामपट्टिकासमेत भत्काएका छन्। केही प्रदर्शनकारी खुकुरी, भाला, बन्चरो र लाठी बोकेर सडकमा उत्रिएका थिए।
द डेली स्टारका अनुसार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीले दिउँसो १२ बजे बीएसआईसी पुल क्षेत्रबाट जुलुस निकालेका थिए। प्रदर्शन करिब पौने २ बजेसम्म चलेको थियो।
तोडफोडपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरेको छ। प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी र प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई सार्वजनिक प्रशासन मन्त्रालयमा पठाइएको छ। जिल्लाका तीन प्रहरी चौकीका प्रमुखसमेत फेरिएका छन्।
सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी र सीमावर्ती सुरक्षा बल बंगलादेशका करिब १५० सुरक्षाकर्मी परिचालन गरिएको युनाइटेड न्युज अफ बंगलादेशले जनाएको छ।
७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी छन्। उनले आगामी डिसेम्बरमा स्वदेश फर्किने र कानुनी लडाइँ लड्ने तयारी गरेको उनका सहयोगी अबु ओबैदाह आरिनलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ।
हसिनाका कानुन व्यवसायीले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न माग गरे पनि बंगलादेश सरकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ।
बंगलादेश सरकारले हसिनालाई भारतबाट फिर्ता ल्याउन सुपुर्दगी प्रक्रिया अघि बढाएको छ। कानुनमन्त्री मोहम्मद असदुज्जमानले आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको र अब भारतको निर्णय पर्खिरहेको बताएका छन्।
भारतले भने यसबारे निर्णय सार्वजनिक गरेको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नोभेम्बर १० मा सुपुर्दगी कानुनी विषय भएकाले प्रक्रियाअनुसार सम्बोधन गरिने बताएका थिए।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। सोही मुद्दामा पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड दिइएको थियो।
हसिनाले फैसला अस्वीकार गर्दै आएकी छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भने अनुपस्थितिमै गरिएको सुनुवाइ र मृत्युदण्डको फैसलामा निष्पक्ष न्यायको प्रश्न उठाएको थियो।
हसिनाको स्वदेश फिर्तीको चर्चा चुलिएका बेला गृहजिल्लामा भएको अवामी लिगको प्रदर्शनले बंगलादेशको राजनीतिक तनाव थप बढाएको छ।
