कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?
अन्ताल्या। जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ ।सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन ।
आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए पनि मस्यौदामा त्यसको उल्लेख नभएकाले इयुले सम्झौता समर्थन नगर्ने बताउनुभयो । तेल उत्पादक साउदी अरेबियालगायतका देशले भने जीवाश्म इन्धनसम्बन्धी कडा भाषा राख्न विरोध गर्दै आएका छन् ।
करिब दुई साताको वार्ता गतिरोधमा पुगेपछि टर्की र अस्ट्रेलियाले सहमतिको प्रयास गरे पनि सफल हुन सकेनन् । मस्यौदामा सन् २०२३ को जीवाश्म इन्धनबाट टाढिँदै जाने विश्वव्यापी प्रतिबद्धतालाई घुमाउरो रूपमा समेटिएको छ ।
कार्बन सङ्कलन प्रविधिको विस्तारलाई पनि समर्थन गरिएको छ, तर उक्त प्रविधि महँगो र उत्सर्जन घटाउन प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएको छ ।
सम्झौतामा सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने लक्ष्य प्रस्ताव गरिएको छ । तर, विद्युत् नवीकरणीय ऊर्जाबाटै उत्पादन हुनुपर्ने बाध्यता राखिएको छैन ।
यसैबीच, आइपिसिसीका आगामी प्रतिवेदन समयमै प्रकाशन गर्ने विषय र जलवायु अनुकूलनका लागि प्रस्तावित १२० अर्ब अमेरिकी डलरको लक्ष्य हटाइएपछि पनि विवाद चर्किएको छ । विकासशील राष्ट्रहरूले धनी देशबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।(
