बालेनका मन्त्रीलाई विदेश मोह, सात महिनामै २७ भ्रमण
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सात महिना बित्दा नबित्दै मन्त्रीहरूमा विदेश भ्रमणको मोह देखिएको छ । प्रधानमन्त्रीबाहेक ११ जना मन्त्रीले अहिलेसम्म २७ पटक विदेश भ्रमण गरिसकेका छन्।
सरकारका मन्त्रीहरू अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय भेटघाट र विभिन्न कार्यक्रममा सहभागी हुने निउँमा विदेश दौडाहामा व्यस्त छन्।
पछिल्लो समय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन पाँच जना मन्त्री टर्की पुगे। परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सम्मेलनमा सहभागी भए । यीमध्ये परराष्ट्रमन्त्री खनाल र स्वास्थ्यमन्त्री मेहता स्वदेश फर्किसके। अन्य तीन मन्त्री अझै टर्कीमै छन्।
परराष्ट्रमन्त्री खनालको विदेश भ्रमणलाई मन्त्रालयको जिम्मेवारी र कूटनीतिक सक्रियतासँग जोडेर हेरिए पनि अन्य मन्त्रीहरूको विदेश यात्राको औचित्य के हो? भन्ने प्रश्न चौतर्फी उठेको छ। परराष्ट्रमन्त्री भएपछि खनालले मौरिसस, भारत, चीन, अमेरिका, फिजी, तुभालु र अस्ट्रेलियाको भ्रमण गरिसकेका छन्।
विदेश भ्रमणको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अग्रपंक्तिमा छन्। उनले भारतमा दुई पटक भ्रमण गर्नुका साथै कतार र अमेरिकाको यात्रा गरिसकेका छन्। वाग्लेले चार देशको भ्रमण पाँच पटक गरिसके।
गृहमन्त्री सुधन गुरुङले पनि दुई पटक विदेश भ्रमण गरेका छन्। उनी पहिलोपटक असोज २६ गते भारतको नयाँदिल्लीमा आयोजित बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन पुगे। त्यसको करिब एक महिनापछि विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन कात्तिक २७ गते संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई प्रस्थान गरेका छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले टर्की जानुअघि स्विट्जरल्यान्ड र त्यसपछि श्रीलंकाको भ्रमण गरेकी छन्। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र दक्षिण कोरियाको भ्रमण गरिसके। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक पौडेल पनि बेलायत पुगिसकेका छन्।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह भारतको औपचारिक भ्रमणमा छन्। भारतीय उद्योग परिसंघ (सीआईआई) को ३१औँ पार्टनरसिप समिटमा सहभागी हुन उनी कात्तिक २५ गते भारत गएका हुन्। श्रम, युवा तथा रोजगारमन्त्री रामजी यादवले गत जुन महिनामा स्विट्जरल्यान्डको जेनेभा भ्रमण गरेका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ कात्तिक १० गते पाँचदिने भ्रमणका लागि थाइल्यान्ड पुगेका थिए। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी बैंकक गएका थिए।
सरकारका तर्फबाट भने सबै विदेश भ्रमणलाई अनावश्यक भन्न नमिल्ने तर्क अघि सारिएको छ। सम्बन्धित पक्षका अनुसार अधिकांश भ्रमण औपचारिक निमन्त्रणा र जिम्मेवारीका आधारमा तय हुने गरेका छन्। आयोजक वा प्रायोजक संस्थाले भ्रमणको खर्च व्यवस्थापन गर्ने भएकाले राज्यकोषमा थप भार नपर्ने दाबी पनि गरिएको छ।
तर सबाल भ्रमणको संख्यामा मात्रै सीमित छैन। विदेश गएर मन्त्रीहरूले देशका लागि के उपलब्धि हासिल गरे, भ्रमणमा सहभागी हुनुपर्ने उपयुक्त व्यक्ति नै छनोट भए कि भएनन् र राज्यको स्रोतसाधनको सदुपयोग भयो कि भएन भन्ने विषयमा पनि जवाफ खोजिन थालेको छ।
