सरकार प्रतिशोध र अधिनायकवादी शैलीमा अघि बढ्यो : शङ्कर पोखरेल
ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन्। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि प्रश्न उठाएको उनको भनाइ छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि खलल पुर्याउने असामान्य घटनाका रूपमा व्याख्या गरे। ती घटनापछि मुलुक प्रतिगमनतर्फ गएको एमालेको विश्लेषण रहेको उनले बताए।
फागुन २१ गते सम्पन्न निर्वाचनको जनादेशलाई एमालेले सम्मान गरे पनि निर्वाचनपछि बनेको सरकारले लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियाअनुसार काम गर्न नसकेको उनको आरोप थियो।
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्रीलाई पर्याप्त तथ्य तथा प्रमाणबिनै पक्राउ गरिएको दाबी गरे। १३ दिनसम्म नियन्त्रणमा राख्दा पनि अभियोजन गर्न नसकिएको घटनाले सरकारसँग आरोप पुष्टि गर्ने आधार नरहेको उनको जिकिर थियो। सरकारकै तर्कअनुसार जिम्मेवारी निर्धारण गर्ने हो भने सुनसरीमा गोली चलेर मानिसको मृत्यु भएको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्री पनि जवाफदेही हुनुपर्ने उनले बताए।
सरकारले विद्यार्थी गतिविधिमा रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास गर्ने र निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयमार्फत लोकतान्त्रिक अधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप पनि पोखरेलले लगाए। विद्यार्थी र श्रमिक संगठनका गतिविधि नियन्त्रण गर्ने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत हुने उनको भनाइ थियो।
राज्यका विभिन्न निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजिएको आरोप लगाउँदै उनले इनम सापकोटा प्रकरणको अनुसन्धान पारदर्शी हुनुपर्ने बताए। प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रहरी नियन्त्रणमा रहेको मोबाइल दुई दिनसम्म राखेको विषय सार्वजनिक भएको उल्लेख गर्दै उनले यसले सरकारको कार्यशैलीमाथि थप प्रश्न उठाएको दाबी गरे।
प्रधानमन्त्री संसद्, संसदीय दल र राजनीतिक दलहरूप्रति उत्तरदायी नदेखिएको आरोप पनि पोखरेलले लगाए। प्रधानमन्त्री संसदीय गतिविधिमा सहभागी नहुने, संसदीय दलको बैठकको अध्यक्षता नगर्ने र अन्य राजनीतिक दलसँग संवाद नगर्ने प्रवृत्तिले लोकतान्त्रिक उत्तरदायित्व कमजोर बनाएको उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा उनले एमालेको पछिल्लो निर्वाचन परिणामबारे पार्टीभित्र समीक्षा भइरहेको जानकारी पनि दिए। निर्वाचनमा पार्टीले व्यहोरेको परिणामको कारण पहिचान गर्न सचिवालय बैठकबाट कार्यदल गठन गरिएको र कार्यकर्ताबाट सुझाव संकलन गरिएको उनले बताए।
उनका अनुसार कार्यदलले ४० बुँदे सुझावसहित सर्वसम्मत प्रतिवेदन तयार गरेको छ। केही सुझाव पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट सम्बोधन गरिएको र बाँकीलाई पनि क्रमशः कार्यान्वयन गरिने उनले बताए।
आगामी राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई जनतामाझ पुनः स्थापित गर्नुका साथै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने पोखरेलको दाबी थियो। स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ राजनीतिक दलहरूले पनि आवश्यक कानुनी तथा प्रक्रियागत तयारी समयमै गर्नुपर्ने उनले सुझाव दिए।
