दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन
सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि उपलब्ध गराएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम बाढीपहिरोबाट क्षति पुगेका क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा खर्च भइरहेको जानकारी दिए।
उनका अनुसार बाढीपहिरोले सडक, पुल, विद्यालय तथा अस्पतालमा ठूलो क्षति पुर्याएको छ। विभिन्न संघसंस्था तथा विदेशी निकायको प्रारम्भिक आकलनअनुसार हालैको विपद्बाट करिब तीनदेखि चार खर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यस्तो अवस्थामा उद्धार कोषमा जम्मा भएको रकमले मात्र पुनर्निर्माणको काम सम्पन्न गर्न पर्याप्त नहुने उनले बताए।
मन्त्री पुनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको र त्यसमा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको पनि उल्लेख गरे।
नेपाली एसोसिएसन अफ ओरेगनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ।
