`

नेप्से १५ अंकले उकालो लाग्यो

Nepal One HD ८ मंसिर २०८३ १६:४६
अर्थ समाचार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो दिन सोमबार पनि बजार २.२६ अंकले उकालो लागेको थियो।

मंगलबार बजार परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

यस दिन १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान बैंकिङ समूहको देखिएको छ । बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो समूह बैंकिङ १.२४ प्रतिशतले बढेको हो । यस समूहमा लगानीकर्ताको आकर्षण बढ्दा समग्र नेप्से परिसूचकलाई समेत टेवा पुगेको देखिन्छ ।

मंगलबार विकास बैंक समूह १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ तथा व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् ।

यसको विपरीत लघुवित्त समूह ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका हिसाबले जलविद्युत् समूह अगाडि देखिएको छ । यस समूहका कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँको कारोबार हुँदा बैंकिङ समूहका कम्पनीमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९ र श्वेतगंगा हाइड्रोको २.७८ प्रतिशतले मूल्य बढेको छ ।

यता मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले मूल्य ओरालो लागेको छ । 

कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक अगाडि रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *