आयातमा पेट्रोलियमको दबदबा, निर्यातमा खाने तेलको भर
काठमाडौं । नेपालको व्यापारमा पेट्रोलियम पदार्थको निर्भरता र खाने तेलजन्य वस्तुको निर्यातमा देखिएको अस्वाभाविक एकाग्रता चालु आर्थिक वर्षको पहिलो चार महिनाको भन्सार तथ्यांकले उजागर गरेको छ ।
साउनदेखि कात्तिकसम्म सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा रहँदा निर्याततर्फ पशु तथा वनस्पतिजन्य बोसो र तेलजन्य पदार्थ अग्रस्थानमा देखिएका छन् ।
भन्सार विभागका अनुसार चार महिनामा नेपालले कुल ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । त्यसको १९.६२ प्रतिशत हिस्सा खनिज इन्धन अर्थात् पेट्रोलियम पदार्थको छ । यस अवधिमा मात्रै १ खर्ब ५७ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
आयातको दोस्रो ठूलो हिस्सा खाने तेल तथा तेलजन्य पदार्थले ओगटेको छ । चार महिनामा ८० अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बराबरका यस्ता वस्तु आयात भएका छन् । तेस्रो स्थानमा सवारी साधन तथा तिनका पार्टपुर्जा छन् । यस शीर्षकमा ६७ अर्ब २८ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, बोइलर, मेसिनरी तथा यान्त्रिक उपकरण ५२ अर्ब ३१ करोड १३ लाख रुपैयाँ र फलाम तथा स्टिल ४९ अर्ब ३३ करोड ९ लाख रुपैयाँ बराबर आयात भएका छन् । विद्युतीय मेसिनरी तथा उपकरणमा ४७ अर्ब ७२ करोड रुपैयाँ र रासायनिक मलमा ३४ अर्ब रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांक छ ।
निर्याततर्फ भने कुल १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु विदेशिएको छ । यसमध्ये पशु वा वनस्पतिजन्य बोसो तथा तेलजन्य पदार्थको हिस्सा ५१.३५ प्रतिशत छ । चार महिनामा ६८ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको यस्तो वस्तु निर्यात भएको छ । अर्थात् नेपालको कुल निर्यातको आधाभन्दा बढी हिस्सा एउटै वस्तु समूहले ओगटेको छ ।
निर्यात सूचीको दोस्रो स्थानमा मानवनिर्मित स्टेपल फाइबर अर्थात् कृत्रिम धागो तथा कपडाजन्य सामग्री छन् । यस अवधिमा ५ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ बराबरको यस्तो सामग्री निर्यात भएको छ । कफी, चिया तथा मसलाजन्य वस्तु ५ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ बराबर निर्यात हुँदै तेस्रो स्थानमा छन् ।
त्यसैगरी, गलैँचा तथा भुइँ ओछ्याउने सामग्रीको निर्यात ४ अर्ब ३६ करोड १३ लाख रुपैयाँ र खाद्य उद्योगका अवशेष तथा पशुपन्छीको दानाको निर्यात ४ अर्ब १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । फलाम तथा स्टिल ४ अर्ब १ करोड, जुटलगायत वनस्पतिजन्य रेसा तथा कपडा ३ अर्ब ७२ करोड र तयारी पोसाक ३ अर्ब ५८ करोड रुपैयाँ बराबर निर्यात भएका छन् ।
तथ्यांकले नेपालको आयातमा पेट्रोलियम पदार्थको उच्च निर्भरता र निर्यातमा खाने तेलजन्य वस्तुको ठूलो हिस्सा देखाएको छ । आयातको ठूलो रकम इन्धनमै खर्च भइरहँदा निर्यातको आधाभन्दा बढी हिस्सा एउटै वस्तु समूहमा केन्द्रित हुनु नेपालको वैदेशिक व्यापार संरचनामा रहेको चुनौतीका रूपमा देखिएको छ ।
