युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलता दिन कार्ययोजना अघि बढाइएको छ : मन्त्री यादव
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएकाे बताएका छन् ।
मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
मन्त्री यादवले बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र पूरा गर्न र बेरुजु फर्छ्योट तीव्र बनाउन अधिकारीलाई निर्देशन दिए । आवश्यक बजेट माग गरेर भए पनि समयमै लक्ष्य पूरा गर्न उनले आग्रह गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश मल्लले पहिलो त्रैमासिकमा पूरा नभएका कार्यक्रम आगामी त्रैमासिकमा सक्न जोड दिए । सचिव डा. दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताउँदै ३० माइलस्टोनमध्ये १० वटा सकिएको जानकारी दिए ।
समीक्षामा राष्ट्रिय युवा ऐनको मस्यौदा कानुन मन्त्रालय पठाइएको, युवा दृष्टिकोण २०४० को मस्यौदा तयार भएको, एक हजार २०० जनाको सीप परीक्षण समझदारी भएको र ६३ जनालाई सीपमूलक तालिम दिइएको प्रगति विवरण प्रस्तुत गरियो ।
