‘भारत भ्रमणमा प्रधानमन्त्रीले विश्वासघात गर्नुभयो’
सुकुम्बासी विस्थापनपछिको व्यवस्थापन तथा भोटेकोशी बाढीपीडित नागरिकको राहत र उद्धारको विषय पनि यसपटकको कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा परेका छन्। कांग्रेसका अनुसार सरकारले यी दुवै विषयमा प्रभावकारी रूपमा काम गर्न सकेन।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार सुकुम्बासीको व्यवस्थापन र भोटेकोशी बाढीपीडितका हकमा गर्नुपर्ने काम सरकारले सामाजिक सञ्जालमा मात्रै सीमित राख्यो। जसका कारण १८ अर्बभन्दा बढी रुपैयाँ राज्यकोषमा थुप्रिँदा पनि राहत पीडितसम्म पुग्न सकेन।
हामीले पौडेललाई प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को भारत भ्रमणका सन्दर्भमा समेत प्रश्न गरेका थियौँ। जवाफमा उनले सरकार विगतका सम्झौता र सहमतिभन्दा माथि उठ्न नसकेको बताए। नागरिकले सीमा विवाद, विगतमा नेपाल–भारतबीच भएका ठूला सम्झौता र अन्य विभिन्न समस्या निर्णायक रूपमा उठ्ने विश्वास गरेको भए पनि प्रधानमन्त्रीले ती कुराहरू पर्याप्त रूपमा उठाउन नसकेको उनको तर्क छ।
साथै, उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा के भयो र के भएन भन्नेबारे जानकारी दिन पनि सरकारसमक्ष माग गरे।
प्रस्तुत छ, नेपालवान एचडीका लागि रामचन्द्र जोशीले पौडेलसँग गरेको भिडियोवार्ताको संक्षिप्त र सम्पादित अंशः
केन्द्रीय समितिको बैठक जारी छ। के-के एजेन्डामा छलफल गरिरहनुभएको छ?
हाम्रा एजेन्डाहरू सार्वजनिक भइसकेका छन्। अहिले हामीले नागरिक सरोकारका विषयलाई मुख्य रूपमा उठाउन खोजिरहेका छौँ। भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकीमा आएको बाढीबाट प्रभावित आम नागरिकका विषयमा सरकारले अत्यन्तै बेवास्ता गरेको छ। बाढीपीडितलाई जुन ढङ्गले राहत दिनुपर्ने हो, पुनःस्थापनाका लागि योजना बनाउनुपर्ने हो र उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नुपर्ने हो, त्यस्तो केही पनि गरेको स्थिति छैन।
यतिका दिनसम्म सरकारले के गर्यो? सहयोग यति जम्मा भयो भनेर भन्छ, त्यो कहाँ खर्च भयो? दीर्घकालीन योजना सरकारसँग के छ? बाढीपीडितका निम्ति सरकारको कुनै स्पष्ट दृष्टिकोण आएको छैन।
सुकुम्बासी व्यवस्थापनका विषयमा पनि सरकारले स्पष्ट दृष्टिकोण ल्याउन सकेको छैन। उनीहरूलाई अलपत्र अवस्थामा राखिएको छ। यी जनजीविकाका मुद्दालाई हामीले प्रमुख रूपमा उठाउने भनेर एजेन्डामा राखेका छौँ।
सरकारका गतिविधिका बारेमा पनि छलफल गरेर धारणा सार्वजनिक गर्ने विषयलाई एजेन्डामा समेटेका छौँ। हाम्रो आन्तरिक संगठनलाई गतिशील बनाउने र विभिन्न अभियान सञ्चालन गर्ने विषय पनि छन्। यसअघि हामीले ‘हामी तयार छौँ’ भन्ने अभियान घोषणा गरेका छौँ।
प्रधानमन्त्रीको भारत भ्रमणप्रति तपाईंहरूको समग्र दृष्टिकोण के हो?
यो भ्रमणबाट लामो समयदेखि छलफलमा रहेका विषयहरू फेरि उठ्ने र टुङ्गोमा पुग्ने गरी अगाडि बढ्ने अपेक्षा गरिएको थियो। नेपालको धारणा मित्रराष्ट्र भारतसमक्ष प्रधानमन्त्रीले स्पष्ट रूपमा राख्नुहुनेछ भन्ने आम नेपालीको विश्वास थियो। तर, पहिलो कुरा त त्यही विश्वास पूरा हुन सकेन। पुराना र नयाँ कुनै पनि विषय स्पष्ट रूपमा राखेको देखिएन।
हामी के भन्न चाहन्छौँ भने प्रधानमन्त्रीज्यूले भारतमा गएर के–के गर्नुभयो, को–कोसँग भेट्नुभयो, के–के कुराकानी भयो, के–के सम्झौता भए र कुन–कुन प्रक्रिया अगाडि बढे भन्नेबारे नेपाली नागरिकलाई आधिकारिक रूपमा जानकारी दिनुपर्छ।
नेपालले प्राप्त गरेको अनुदान हो कि ऋण हो? पुराना सहमतिका विषय कति अगाडि बढे? नयाँ विषय उहाँले के प्रवेश गराउनुभयो? यी सबै कुरा प्रधानमन्त्रीले नेपाली नागरिक र जनतालाई स्पष्ट रूपमा भन्नुपर्छ।
परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन र?
परराष्ट्र मन्त्रालयले पनि भ्रमणबारे सामान्य कुराहरू लेखेको छ। तर प्रधानमन्त्रीको भ्रमण निजी हुँदैन। उहाँ देशको प्रतिनिधित्व गरेर जानुभएको हो। मित्रराष्ट्र भारतसँग नेपालको हितका विषयमा के–के कुरा राख्नुभयो र ती विषयमा के–कस्ता उपलब्धि भए भन्नेबारे देशलाई जानकारी गराउनुपर्छ।
अर्को कुरा, उपलब्धि भयो भनेर भनिएका विषय संवाद मात्रै भएका हुन् कि उपलब्धि हासिल हुने गरी अगाडि बढेका हुन् भन्ने पनि स्पष्ट छैन। आफ्नो अनुकूल हुने गरी प्रचार गर्ने एउटा विषय भयो, यथार्थ कुरा थाहा पाउनु अर्को विषय हो। त्यसैले हामीले प्रधानमन्त्रीको भारत भ्रमणबारे यथार्थ जानकारी प्राप्त गर्न सकेका छैनौँ।
प्रधानमन्त्रीले आफ्नो भ्रमणका विषय, उपलब्धि र भेटघाटबारे देशलाई जानकारी गराउनुपर्छ।
कांग्रेसभित्रै अर्को पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। ती सबै पक्षलाई पार्टीभित्र ल्याउन तपाईंहरूले कस्तो प्रयास गरिरहनुभएको छ?
हामीले गरेका प्रयास सार्वजनिक छन्। लुकाएर केही गरेका छैनौँ। आठ महिनामा कांग्रेसका दुईवटा अधिवेशन भए। कांग्रेसलाई विधिअनुसार सञ्चालन गर्नका लागि हामीले गरेको प्रयासको पहिलो उदाहरण यही हो।
विशेष अधिवेशन सम्पन्न भएको आठ महिनामै १५औँ नियमित महाधिवेशन गर्यौँ। सबैलाई सहभागी गराएर विधिवत् रूपमा नेतृत्वमा प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यले हामीले यो प्रक्रिया अगाडि बढाएका हौँ।
त्यहाँ कसैलाई आउन रोकतोक लगाइएको थिएन। सबैलाई आउन स्वागत गरिएको थियो, सम्मान गरिएको थियो। यही प्रक्रियाबाट अगाडि बढौँ भन्ने हाम्रो आग्रह थियो।
नेतृत्व लिन चाहने नेताहरूले पनि विधिभित्र आएर प्रतिस्पर्धामार्फत नेतृत्व लिनुपर्यो नि! कसैलाई महाधिवेशनमा आउन, उम्मेदवारी दिन, आफ्ना भनाइ राख्न वा सहभागी हुन निषेध गरिएको थिएन। तर १५औँ महाधिवेशनमा पनि केही वरिष्ठ नेताहरू आउनुभएन। यो हाम्रो जानकारीमा छ।
एकता गर्ने, मिलाउने र समेट्ने भनेको विधानभित्रै रहेर हो।
देउवा पक्षतिर लाग्नेलाई कारबाही गर्ने भन्ने चर्चा पनि आएको छ नि?
म तपाईंलाई नै प्रश्न गर्न चाहन्छु, देश केले चल्छ? संविधानले। पार्टी केले चल्छ? त्यसको विधानले। विधानले दिएका सीमाभित्र बसेर, दायराभित्र रहेर हामी अहिले पनि नआउनुभएका नेताहरूलाई आउन, सम्मान गर्न र पार्टीभित्रै सँगै बस्ने वातावरण निर्माण गर्न तयार छौँ।
तर विधानले नै नदिएको कुरा चाहियो, त्यो नभई हुँदैन भनेर अडान राखियो भने दिन सकिने अवस्था हुँदैन। त्यसैले पार्टी विधि र विधानअनुसार चल्ने हो। विधानको सीमाभित्र रहेर हामी वरिष्ठ नेताहरूलाई सम्मान गर्न चाहन्छौँ।
म सञ्चारमाध्यमलाई पनि के अनुरोध गर्न चाहन्छु भने निर्वाचन आयोगमा एउटै नाममा दुईवटा पार्टी दर्ता हुन सक्दैन। निर्वाचन आयोगले हाम्रो अधिवेशन अद्यावधिक पनि गरिसकेको छ। त्यसैले राज्यको राजनीतिक दलसम्बन्धी कानुनले के भन्छ, त्यसलाई सबैले पालना गर्नुपर्छ भन्ने मलाई लाग्छ।
असन्तुष्टि छन् भने ती अदालतसम्म पुगेका छन्।
अदालतको निर्णय पनि तपाईंहरू पर्खिरहनुभएको हो?
पर्खिने कुरा होइन। संसद् पुनःस्थापनाको मुद्दा अदालत पुगेको छैन? अनि संसद् बन्द भएको छ? संसद्ले काम गर्न छोडेको छ? यो संसद् र निर्वाचन ठीक होइन, अहिले बनेको संसद् ठीक होइन, पहिलेकै संसद् पुनःस्थापना हुनुपर्छ भन्ने मुद्दा पनि त छ नि!
कांग्रेसले पनि त्यही भन्छ?
हामीले त निर्वाचन लड्यौँ, हामीले त्यस्तो भनेका होइनौँ। अहिले संसद् पुनःस्थापनाको मुद्दा अदालतमा गएको छ नि! अदालतमा मुद्दा पर्दैमा संसद् निष्क्रिय हुने हो भने अहिलेको संसद् बन्द गर्नुपर्ने हुन्छ। के त्यो सम्भव छ?
संसद् पुनःस्थापनाको मुद्दा जस्तै हो कांग्रेसको मुद्दा पनि। त्यसैले विवेकी पत्रकार साथीहरूले पनि यो विषयलाई त्यही ढङ्गबाट प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछु।



