`

अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा

Nepal One HD ९ मंसिर २०८३ २०:५०
विश्व

मेलबर्न । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर बढेर ४.९ प्रतिशत पुगेको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार अक्टोबरसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ४.९ प्रतिशतले बढेको छ। सेप्टेम्बरमा यो दर ४.३ प्रतिशत थियो। अक्टोबरमा देखिएको यो वृद्धि सन् २०२३ को अक्टोबरयताकै उच्च हो ।

अर्थशास्त्रीहरूले अक्टोबरमा मुद्रास्फीति दर ४.७ देखि ४.८ प्रतिशतसम्म रहने अनुमान गरेका थिए। तर वास्तविक तथ्याङ्क उनीहरूको अनुमानभन्दा बढी देखिएको छ ।

अस्ट्रेलियन रिजर्भ बैंक (आरबीए) ले मुद्रास्फीतिको वास्तविक अवस्था मूल्याङ्कन गर्न प्रयोग गर्ने वार्षिक ट्रिम्ड मीन सूचक पनि सेप्टेम्बरको ३.६ प्रतिशतबाट बढेर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ ।

डिसेम्बरको सुरुवातमा हुने आरबीएको सन् २०२६ को अन्तिम मौद्रिक नीति बोर्ड बैठकअघि यो तथ्याङ्क सार्वजनिक भएको हो । उक्त बैठकमा केन्द्रीय बैंकले ब्याजदर समायोजन गर्ने विषयमा छलफल गर्नेछ ।

मुद्रास्फीतिलाई केन्द्रीय बैंकले तोकेको २ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र ल्याउने प्रयासस्वरूप आरबीएले सन् २०२६ मा पाँच पटक ०.२५ प्रतिशत बिन्दुका दरले नगद ब्याजदर बढाइसकेको छ । यससँगै ब्याजदर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत पुगेको छ ।

एबीएसकी मूल्य तथ्याङ्क प्रमुख रेचल म्याकक्रिकका अनुसार अक्टोबरसम्मको एक वर्षमा आवास क्षेत्र मुद्रास्फीति वृद्धिमा सबैभन्दा ठूलो योगदान दिने क्षेत्र बनेको छ । आवाससम्बन्धी मूल्य वार्षिक रूपमा ६.४ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा ५.२ प्रतिशत थियो ।

त्यस्तै, यातायात क्षेत्र मुद्रास्फीतिमा दोस्रो ठूलो योगदान दिने क्षेत्र बनेको छ। यस क्षेत्रमा वार्षिक रूपमा १०.६ प्रतिशत मूल्यवृद्धि भएको छ ।

म्याकक्रिकले अक्टोबरमा मासिक आधारमा सवारीसाधनमा प्रयोग हुने इन्धनको मूल्य ६.३ प्रतिशतले बढेको बताइन्। सेप्टेम्बरमा यस्तो वृद्धि ९.४ प्रतिशत थियो। विश्व बजारमा तेलको मूल्य बढेका कारण इन्धन महँगिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *