झापा महिला गोल्डकपः एपिएफ फाइनलमा
झापा। दूधे रङ्गशालामा जारी झापा महिला गोल्डपकको आजको खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बूले एपिएफकी रश्मीकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मीले सोझै पोस्टको दिशा दिइन् । एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मीले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद रु १५ हजार पुरस्कार पाइन् । बिहीबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुँदैछ ।
प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले एक लाख ५० हजार पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।
