मधेस प्रदेशमा समानुपातिक दुई सांसदले लिए पद तथा गोपनीयताको शपथग्रहण


जनकपुरधाम । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रका समानुपातिक दुई सांसद माला कर्ण र महोत्तरीका रज्जी हैदरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार दुई सांसदलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
दुई सांसदमाथि परेको रिट सर्वोच्च अदालतले तामेलीमा पठाएर मुद्दा किनारा लगाएसँगै सांसदको विवाद समाधान भएको थियो । उनीहरूमाथि सोही पार्टीकी खजान्ती महतो नुनियाले क्लस्टर नमिलेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । सोही कारण उनीहरूलाई निर्वाचन आयोगले निर्वाचित घोषणा गरे पनि प्रमाणपत्र दिइएको थिएन । गएको पुस १५ गते मधेसका १०५ प्रदेशसभा सदस्यले शपथ लिएका थिए । कर्ण र हैदरको शपथ रोकिएको थियो ।
पार्टीले निर्वाचन आयोगमा पठाएको बन्दसूचीअनुसार धनुषाबाट सुनीता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास र महोत्तरीबाट मोहम्मद रज्जी हैदरलाई निर्वाचित भएको घोषणा गरिएको थियो । सुनीता र माला मधेसी समूह, शारदा दलित र रज्जीको नाम मुस्लिम समूहको कोटाबाट पठाइएको थियो । त्यसपछि खजान्तीले अनुसूचीअनुसार आफू निर्वाचित हुनुपर्ने भन्दै उत्प्रेषण मुद्दा दिएकी थिइन् ।