`

संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

Nepal One HD ८ फागुन २०७९ १६:४७
राजनीति

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताउनुभएको हो । संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्त्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि सांसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राख्नुभयो ।

उहाँले आयोगले सीमित स्रोत साधनका बाबजुद धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभई फुल हाउसमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जबाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समावेशिताको बुझाईमा एकरूपता आवश्यक पर्ने बताउनुभयो । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरू, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केही समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔँ र यसका अवसरहरूको उपयोग गरौँ भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।


प्रतिक्रिया