`

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन,बरू मित्रवत् प्रतिष्पर्धा गर्छौं : सीके राउत

Nepal One HD २७ फागुन २०७९ १५:३७
राजनीति

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति पदका लागि आफ्नो पार्टीबाट ममता झाको उमेदवारी दर्ता भएपछि यस विषयमा गठबन्धनमा छलफल हुने प्रतिक्रिया दिएका छन् । 

उमेदवारी दर्तापछि राउतले आठदलीय गठबन्धनको निर्णयअनुसार नै आफूहरुले उमेदवारी दिएको बताएका छन् । उनले गठबन्धन दलबाट तीनजनाको उमेदवारी परेकाले यस विषयमा गठबन्धनमा  छलफल हुने बताए । 

राउतले गठबन्धनको निर्णयअनुसार नै आफ्नो पार्टीले उमेदवारी दिएको बताए । उनले आफ्नो पार्टीको उमेदवारको पक्षमा गठबन्धनमा सहमति हुने बताए । आफ्नो उमेदवारमा सहमति नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा हुने उनले बताए । 

उपराष्ट्रपति पदका लागि जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् भने जनमत पार्टीबाट झाले उमेदवारी दर्ता गरेकी छन् । 

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । 

उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी दर्ताको समय आज बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो ।


प्रतिक्रिया