उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिन्ह दिइने
काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
आयोगले चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म का लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं २ का लागि उपनिर्वाचन हुन लागेको हो ।
