`

यसरी २ घण्टामा २८ देशका एटीएमबाट १ करोड ४० लाख डलर लुटियो

Nepal One HD २३ चैत २०७९ २०:५३
समाचार

कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।

सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर पाएको ठानेका थिए। तर वास्तवमा उनीहरू एक महत्त्वाकाङ्क्षी ब्याङ्क लुट्ने योजनामा पैसा सङ्कलन गर्ने प्रयोजनका लागि ठगिएका थिए।

सन् २०१८ को एक सप्ताहान्तमा पुणेमा मुख्यालय रहेको कसमस को-अपरेटिभ ब्याङ्कमा आक्रमण भएको थियो।शनिवार दिउँसोको समय ब्याङ्कको प्रधान कार्यालयका कर्मचारीहरूलाई अचानक चेतावनी पूर्ण सन्देशहरू आउन थाले।

ती सन्देशहरू संयुक्त राज्य अमेरिकाको कार्ड भुक्तानी गर्ने कम्पनी भिसाका थिए जसमा विभिन्न एटीएमहरू मार्फत् कसमस ब्याङ्कको कार्ड प्रयोग गरेर ठूलो रकम निकाल्न खोजिएको र त्यो शङ्कास्पद देखिएको चेतावनी दिइएको थियो।तर जब कसमसका कर्मचारीले ब्याङ्कको प्रणालीहरू जाँच गरे त्यहाँ कुनै असामान्य कारोबार भएको पाएनन्।

करिब आधा घण्टापछि सुरक्षा नीति अपनाउँदै कसमस ब्याङ्कले भिसालाई आफ्ना सम्पूर्ण कार्डहरूबाट कारोबार रोक्ने अधिकार दियो। तर त्यस उपाय अपनाउन ढिलो हुँदा ठूलो मूल्य चुकाउनु पर्‍यो।

भोलिपल्ट, भिसाले सन्दिग्ध कारोबारको पूर्ण सूची कसमसको मुख्य कार्यालयसँग साझा गर्‍यो: संसारभरका विभिन्न एटीएमहरूबाट छुट्टाछुट्टै करिब १२,००० पटक पैसा निकालिएको देखियो।

ब्याङ्कले करिब एक करोड ४० लाख अमेरिकी डलर गुमाइसकेको थियो।यो अत्यन्त बृहत् स्तरमा, निकै मिहिन समन्वयमा गरिएको दुस्साहसपूर्ण अपराध थियो। लुटेराहरूले संयुक्त राज्य अमेरिका, यूके, संयुक्त अरब इमिरेट्स र रुस लगायत २८ देशका विभिन्न एटीएमहरूबाट लुटपाट गरेका थिए। यस असाधारण आपराधिक घटनाक्रम मात्र दुई घण्टा १३ मिनेटको अवधिमा भएको थियो।

अन्ततः अनुसन्धानकर्ताहरूले यस चोरीको सम्बन्ध एक सन्दिग्ध ह्याकरहरूको समूहसँग जोडिएको पाए जसले यसअघि उत्तर कोरियाली राज्यको निर्देशनमा उस्तै लुटमा सफलता हात पारेको थियो।तर उनीहरूले घटनाबारे थप जानकारी प्राप्त गर्नुअघि, महाराष्ट्रको साइबर-अपराध एकाइका अधिकारीहरू केही सीसीटीभी फुटेज देखेर छक्क परे। ती दृश्यहरूमा दर्जनौँ पुरुष एटीएम बुथहरूमा देखिए। उनीहरूले ब्याङ्कको कार्ड प्रयोग गरेर पैसा निकाल्दै झोलामा भरेको फुटेजमा देखिन्छ।

“हामीलाई पैसा ओसार्ने यस्तो सञ्जालको बारेमा केही थाहा थिएन,” अनुसन्धानको नेतृत्व गर्ने इन्स्पेक्टर जनरल ब्रिजेश सिंहले भने।

सिंहका अनुसार हरेक गिरोहमा एक जना व्यक्ति थिए जसले ल्यापटपमा घटना भइरहेको वास्तविक समयमै एटीएम कारोबारको निगरानी गरिरहेका थिए। सीसीटीभी फुटेजमा देखिए अनुसार पैसा ओसार्न खटेको व्यक्तिले केही रकम लुकाउन खोज्दा निगरानीकर्ताले देख्छन् र गाली गर्छन्।

सीसीटीभी फुटेज र एटीएम नजिकका क्षेत्रहरूबाट मोबाइल फोन डेटा प्रयोग गरेर भारतीय अनुसन्धाताहरूले लुट मच्चिएको केही सातापछि १८ जना सन्दिग्धहरूलाई पक्राउ गर्न सफल भए। तीमध्ये अधिकांश अहिले मुद्दा सुनुवाइको पर्खाइमा छन्।

ती मानिसहरू गम्भीर प्रकृतिका अपराधी नभएको सिंहले बताए। पक्राउ पर्नेहरूमा एक जना वेटर, एक जना चालक र एक जना जुत्ता बनाउने मानिस थिए। अर्का एक जनाले त फार्मेसीमा डिग्री हासिल गरेका थिए।

“ती सबै भलाद्मी मानिस थिए,” उनी भन्छन्।यद्यपि, पैसा लुट्ने समयसम्ममा “अतिरिक्त कलाकार”को रूपमा खटाइएका ती मानिसहरूलाई पनि आफूले वास्तवमा के गरिरहेको छु भन्नेबारे थाहा भएको हुनसक्ने उनको अनुमान छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


प्रतिक्रिया