`

संसदमा मनिष झाको प्रश्न : सरकार रातारात भ्रष्टचारीसँग मिलेको हो ?

Nepal One HD २४ चैत २०७९ १४:०१
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्रीले सत्ता गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रमको विषयमा प्रश्न उठाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले रास्वपाको बाचापत्रमा उल्लेख भएको विषयहरू अहिलेको न्यूनतम साझा कार्यक्रममा किन नअटाएको भन्दै प्रश्न उठाए ।

साथै उनले राष्ट्रिय सहमतिको सरकार भनेर प्रधानमन्त्रीले उच्चारण गरेपनि अघिल्लो गठबन्धन हुँदा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइएको भन्दै प्रश्न गरे ।

सरकारले दुई महिनाअघि ल्याएको नीति तथा कार्यक्रममा समेटिएको बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिमा छिनोफानो गर्ने भन्ने व्यवस्था हटाइएको भन्दै उनले आपत्ति जनाए ।

‘बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिबाट छिनोफानो गर्ने व्यवस्था गरेको थियो । अहिले हटाइएको छ । दुई महिनाअघि स्वीकार भएको यो व्यवस्था अहिले किन भएन ?,’ उनले अघि भने, ‘भ्रष्टाचारमा अख्तियार जोडिएका विषयहरूमा छानबिन गरी कानुनी कारबाही अघि बढाउने भन्ने कुरा पहिले थियो, अहिले छैन । रातारात भ्रष्टाचारीसँग मिलेमतो भएको हो वा अन्य केही कारण हो ?’

उनले पहिलेको नीति तथा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र दिइसक्ने उल्लेख भएकोमा यसपटक त्यसलाई हटाइएको बताए ।


प्रतिक्रिया