`

जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक – महरा

Nepal One HD ६ वैशाख २०८० २१:५६
समाचार

भालुवाङ – पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताउनुभएको छ । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताउनुभयो ।

“हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाईं लड्दै गर्दा पनि देशका कैयौँ ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुव्र्यवहारमा परेका छन्, त्यस कारण मलाई लाग्छ सामन्तसँगको लडाईं अझै सकिएको छैन”, नेता महराले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आशावादी भएको बताउनुभयो ।


प्रतिक्रिया