`

चौथाइवाले किन बारम्बार काठमाण्डू आउँछन् ?

Nepal One HD ८ वैशाख २०८० ८:१५
समाचार

सुदुरपश्चिम नेपालमा एउटा सम्मेलनमा भाग लिन आएका भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवाले काठमाण्डूमा उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेर नयाँ दिल्ली फर्किएका छन्।

मनसखण्ड सम्मेलनमा विशेष अतिथिका रूपमा भाग लिन आएका चौथाइवाले त्यहाँबाट काठमाण्डू आएका थिए।उनले आफूले नेपालका प्रधानमन्त्रीसहित सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएका छन्।

सबै नेपाली नेताहरूले बलियो नेपाल-भारत सम्बन्ध र सघन पार्टीगत अन्तरक्रियामा जोड दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

को कोसँग भेटे, के भने?
काठमाण्डूमा भएका आफ्ना भेटवार्ताबारे ट्विटरमा चौथाइवालेले प्रसन्नता जनाएका छन्।उनले आफूले प्रधानमन्त्रीमा प्रचण्डलाई चुनावपछि सत्ता सम्हालेकोमा बधाई दिएको उल्लेख गरेका छन्।

प्रमुख विपक्षी नेता केपी ओलीसँगको भेटका बारेमा उनले लेखेका छन्, “उहाँले मलाई नेपालको राजनीति र अन्य अरू धेरै सम्बन्धित विषयहरूमा रोचक कुरा सुनाउनुभयो।”चौथाइवालेसँगको छलफलमा गेरुवा रङ्गको कमिज लगाएका ओलीसँगै एमाले नेता विष्णु रिमाल तस्बिरमा देखिन्छन्। बीबीसीले सम्पर्क गर्दा रिमाल उक्त भेटबारे खुल्न चाहेनन्।

पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रप्रमुख निर्वाचित भएकोमा बधाई दिने उनको योजना रहे पनि पौडेल अचानक अस्वस्थ्य भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।प्रधानमन्त्री प्रचण्ड आगामी वैशाखको अन्त्यसम्ममा भारत भ्रमणको तयारीमा रहेका भन्ने विवरणमाझ भारतीय सत्ताधारी दलका विदेश विभागका प्रमुखले राजनीतिक अन्तरक्रियाहरू गरेका हुन्।

यसअघि एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चुनावअघिको गठबन्धन भत्किएको सहितका विषयमा नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा भाग लिन केही समय पहिले आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले चासो राखेका थिए।

चुनाव लगत्तै बनेको गठबन्धन भत्किएर अहिले बनेको कांग्रेस माओवादी समीकरणलाई नयाँ दिल्ली समेतले आफ्ना लागि सहज मानेको कतिपय विश्लेषकहरूले बताइरहेका छन्।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


प्रतिक्रिया