निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार,दोस्रोपटक आएर गरेका थिए हत्या

NepalOne १७ वैशाख २०८० १७:०१
प्रमुख खबर

काठमाडौं – सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए ।

घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)  का एसएसपी दिनेश आचार्यले बताउनुभयाे ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किए  ।

‘पसलबाट निस्किएएर १०,१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र  टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक तोलाको सिक्रीका साथै पसलको ड्रयरबाट ११,१२ सय रुपैयाँ लुटेका छन् । लुटेको सिक्री उनले सुन पसलमा बेच्न भ्याइसकेका थिए । प्रहरी उक्त सिक्री पनि फेला पारेको छ ।

विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए ।

यसअघि चारवटा डिस्कोमा बाउन्सरका रुपमा काम गरिरहेका उनी पछिल्लो समय बेरोजगार थिए। बेरोजगार उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा बस्दै आएका थिए। 

साथीको घरमा बस्दै आएका उनी वैशाख ७ गते लोकन्थलीबाट गाडी चढेर चाबहिलस्थित केएल टावरअगाडि झरेका थिए।

त्यहाँबाट उनी चाबहिलमै डिस्कोमा काम गर्दा पहिले नै परिचित सरस्वतीनगरतिर पैदलै निस्केका थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता दिनेश आचार्यका अनुसार करिब २ बजे आसपास निरुको भाँडा पसलमा छिरेका उनी आधा घण्टासम्म त्यहीँ अलमलिएका थिए।

उनले त्यहाँ आफूलाई आवश्यक परेको भन्दै केही भाँडा पनि रोजेर निरुलाई प्याकिङ गर्न लगाएका थिए। तर भाँडा प्याकिङ गरिसकेपछि उनी दिउँसो २ बजेर ३३ मिनेटतिर पैसा चाहिने भन्दै निकाल्ने बहानामा एटीएम जान्छु भन्दै हिँडेका थिए। 

‘एटीएमबाट पैसा लिएर आउँछु भनेर विनो दिउँसो २ बजेर ३३ मिनेटतिर पसलबाट निस्केको देखियो’, आचार्यले भने, ‘त्यसपछि उनी दिउँसो २ बजेर ४४ मिनेटमा पसलमा पसेर निरुमाथि पछाडिबाट आक्रमण गरेका भेटियो। उनले निरुको हत्यामा पसलमै रहेका छुरीको प्रयोग गरेको पत्ता लागेको छ।’

प्रहरीका अनुसार निरुको पसलमा सीसीटीभी जडान नगरेकाले विनोद सजिलै उम्किएका थिए। ‘निरुको पसलमा सीसीटीभी जडान गरिएको थिएन’, आचार्यले भने, ‘त्यहीकारण उनी त्यहाँबाट सजिलै निस्किएर लुक्न सफल भए। तर अन्यत्रको सीसीटीभी फुटेजले उनले लगाएको जुत्ता, बोकेको झोला र लुगाले पहिचान गर्न सजिलो भयो।’


प्रतिक्रिया