`

एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता गर्दैन : अध्यक्ष ओली

Nepal One HD ३ जेठ २०८० १०:४९
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता नगर्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यविहीन र नीतिविहीन भएको जिकिर गर्नुभयो । ओलीले राजनीति अस्थिरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रित रहेको आरोप लगाउनुभयो । त्यस्तै अध्यक्ष ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको काँग्रेसको भूमिका नदेखिएको भन्दै काँग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताउनुभयो ।

ओलीले एमालेले सही बिचार लिएको र सङ्गठन व्यापक भए पनि सङ्गठनात्मक सुधार आवश्यक रहेको बताउनुभयो । एकताबद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरूले छाडेर गएका अभिभाराहरूलाई पुरा गर्न सकिने बताउनुभयो ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा नेकपा एमालेले ‘मदन–आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकले मदननगरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए ।


प्रतिक्रिया