नीति तथा कार्यक्रम कार्यान्वयनमा सहमति आवश्यक’


काठमाडौँ / सांसद सन्तोष चालिसेले वर्तमान आर्थिक सङ्कट समाधानका लागि नीति तथा कार्यक्रम सफल बनाउनुपर्ने र यसका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलका क्रममा उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुभयो ।
सांसद नागिना यादवले देशको आर्थिक विकासका लागि कृषि, पर्यटन, डिजिटल र हरित अर्थव्यवस्थाका क्षेत्रमा काम गर्दै नीति तथा कार्यक्रम सफल र सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद उर्मिला माझीले नीति तथा कार्यक्रमको प्रस्तावनामा जनयुद्धको शब्द राखिनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । सांसद मुक्ताकुमारी यादवले मधेस प्रदेशका किसानका लागि सिचाँइको व्यवस्था गर्न माग गर्दै नीति तथा कार्यक्रममा समर्थन जनाउनुभयो ।
सांसद विमला सुवेदीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै कृषिलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको दाबी गर्नुभयो । सांसद रामकृष्ण यादव र ज्ञानु बस्नेत सुवेदीले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै कार्यान्वयनमा जोड दिनुभयो ।
सांसद हेमराज राईले नीति तथा कार्यक्रमले समाजमा धनी र गरिबबीचको वर्गीय खाडल अन्त्य गर्न चुकेको बताउनुभयो ।
सांसद दामोदर भण्डारीले राष्ट्रिय मुद्दामा केन्द्रित नभएको भन्दै नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने स्पष्ट पार्नुभयो । “यो नीति तथा कार्यक्रम समस्या समाधान गर्ने उद्देश्यबाट विमुख हुने देखिन्छ । तथ्य र तथ्याङ्कको जगमा भन्दा पनि काल्पनिक शब्द जालमा चित्रण गरिएको छ”, उहाँले भन्नुभयो ।
सांसद मानवीर राईले सरकारको नीति तथा कार्यक्रममा सत्तापक्षले प्रतिपक्षको सहमति लिन असफल हुँदा जलस्रोतको उपयोगसम्बन्धी नीति बनाउन चुकेको दाबी गर्नुभयो । सांसद तारा लामा तामाङले सरकारले नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनुभयो ।
सांसद रामनाथ अधिकारीले नीति तथा कार्यक्रममा समर्थन जनाउँदै यसको कार्यान्वयनमा सबैको सहमति आवश्यक रहेको बताउनुभयो ।
सांसद मीना तामाङले प्रस्तुत नीति तथा कार्यक्रममा समर्थन जनाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन, स्वास्थ्य र कृषिका विषयलाई प्राथमिकतासाथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।