`

समानतासहितको स्वतन्त्रता आजको आवश्यकताः अध्यक्ष नेपाल

Nepal One HD २ असार २०८० २०:४३
राजनीति

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताउनुभएको छ ।

रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताउनुभयो ।

अध्यक्ष नेपालले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने उद्देश्यले माक्र्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिनुभयो ।

सामाजिक एकता र आदर्श समाज निर्माणका लागि कम्युनिष्ट सिद्धान्तले पथप्रदर्शन गरेको बताउँदै उहाँले मानव कल्याणका लागि सामाजिक न्याय, समानताका साथै भातृत्वको खाँचो औँल्याउनुभयो । सो अवसरमा रौतहट–काठमाडौँ सम्पर्क मञ्चका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रतिक्रिया