`

कर्णाली सरकारले ल्याएको बजेटमाथिको छलफल सुरु

Nepal One HD ४ असार २०८० २१:५३
प्रशासन

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले संसद्मा प्रस्तुत गर्नुभएको बजेटमाथिको छलफल सुरु भएको हो ।

संसद्को आजको बैठकमा भएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बजेटले दीर्घकालीन सोच नराखेको बताउनुभयो । विशेषगरी विपक्षी दलका सांसदहरूले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले सरकारले ल्याएको बजेटले तत्काल केही व्यक्तिलाई फाइदा हुनेबाहेक अरू केही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटले दीर्घकालीन सोच बनाएको देखिँदैन, अहिले नै केही व्यक्तिलाई फाइदा हुने गरी बजेट ल्याइएको छ ।”

सत्ता पक्षका सांसदहरूले समेत बजेटको आलोचना गर्नुभएको छ । पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य बिन्दमान विष्टले यथार्थपरक बजेट नभएको बताउनुभयो । “हाम्रो स्रोतभन्दा बजेटको आकार ठूलो छ । उहाँले भन्नुभयो, “मैले पूर्वआर्थिक मामिलामन्त्रीको हैसियतले सुझाव पनि दिएको थिएँ बजेट यथार्थपरक हुनुपर्छ भनेर तर त्यसअनुसार बजेट ल्याइएन, हाम्रो बजेट कार्यान्वयन पनि सुस्त छ ।”

प्रदेशसभा सदस्य तुलसा मल्लले भनाइ र गराइ फरक हुनेगरी बजेट ल्याइएको बताउनुभयो । सदस्यहरू जानकी सिंह, पूर्णबहादुर खत्री चालिसे र सुरेश अधिकारीले बजेटमाथि छलफलमा भाग लिँदै बजेट कार्यान्वयनमा जोड दिनुभयो ।


प्रतिक्रिया