पाकिस्तानको सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धी परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।
साउदीका विदेशमन्त्री फैसल बिन फरहानको २ दिने पाकिस्तान भ्रमणका क्रममा लगानी सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले साउदीका सहायक रक्षामन्त्री मेजर जनरल अब्दुल्लाह अल–ओतैबीसँग पनि भेट गरेका थिए । यस क्रममा दुई देशबीच रक्षा उत्पादन र सैन्य तालिमका विषयमा पनि छलफल भएको छ ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ इद उल फित्रको अवसरमा साउदी अरब गएका थिए । उनलाई युवराज मोहम्मद बिन सलमानले इफ्तार पार्टीमा निम्तो दिएका थिए । आर्थिक संकट र राजनीतिक उथलपुथलमा साउदी सधैं पाकिस्तानको साथमा रहेको छ । गत वर्ष जुलाईमा साउदीले पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो । सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो ।

बीबीसीका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो कार्यकालमा ३२ वटा विदेश भ्रमण गरेका थिए । जसमध्ये ८ विदेश भ्रमण साउदी अरेबियाको थियो । सन् २०२१ मा इमरान सरकारको पतनपछि प्रधानमन्त्री बनेका शाहबाज सरिफ पनि आफ्नो पहिलो विदेश भ्रमणमा साउदी नै पुगेका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीहरूले आफ्नो पहिलो विदेश भ्रमणमा साउदी अरब जाने कुरा सामान्य हो । यसको मुख्य कारण पाकिस्तानले साउदीबाट पाउने सहयोग नै हो । साउदी अरब तेलमा आफ्नो अर्थव्यवस्थाको निर्भरता घटाउन चाहन्छ । यस्तो अवस्थामा साउदीले व्यापारका लागि नयाँ साझेदार खोजिरहेको छ । त्यसमध्ये भारत पनि एक हो । तर, उसले पाकिस्तानको पनि चित्त दुखाउन सक्दैनन् ।

Reporter