लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

कपिलवस्तु । लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ । २०७८ चैत २२ गते संघका उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा ३१ जना प्रतिनिधिले हस्ताक्षर गरी गुरुङविरुद्ध क्यानमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
सोही प्रस्तावमा आधारित विशेष साधारणसभा शनिबार तौलिहवामा सम्पन्न भएको थियो । जहाँ उपस्थित ३८ जना प्रतिनिधिहरूले सर्वसम्मत रुपमा अविश्वास प्रस्ताव पारित गरेका हुन् । अविश्वास प्रस्ताव पारित भएसँगै उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले जानकारी दिए ।
उनका अनुसार संघको विनियमावली, क्यानको निर्देशन र राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार विशेष साधारणसभा आयोजना गरिएको हो । आगामी जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारणसभा बोलाइ नयाँ नेतृत्व चयन गरिने समेत मजगैयाँले बताए ।
विशेष साधारणसभामा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी जिल्लाका ३८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।