नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबलमा छनोट

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबलमा छनोट भएको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईमाथि ५ विकेटको जित निकाल्दै नेपालले एसिया छनोट पार गरेर ऐतिहासिक सफलता हासिल गरेको हो ।
यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलिन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन् ।
अब नेपालले मंगलबार थाइल्याण्डसँग अन्तिम खेल खेल्नेछ । त्यस खेलको नतिजा जस्तो भएपनि नेपालको ग्लोबल छनोट यात्रा सुनिश्चित भइसकेको छ।