कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद केसीले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।
सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्याउन सहज हुने बताए ।
उनले मन्त्रिपरिषद् पनि संविधान अन्तरगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गरे ।
केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताए । ‘अहिले कृषि क्षेत्रमा विनियोजन भएको तीन दशमलव ३६ प्रतिशत बजेटलाई कम्तीमा पाँच प्रतिशत पुर्याउनुपर्छ’, उनले भने ।
उनले किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन खरिदको प्रक्रिया समयमा नै थाल्न समेत सरकारको ध्यानार्कषण गराए ।
‘वितरणमा अवैज्ञानिक प्रणालीले वास्तविक किसानसम्म मल नपुग्ने समस्या छ’, सांसद केसीले भने, ‘युएसएडमार्फत आएको ८७ अर्बमध्ये अधिकांश बजेट कृषि क्षेत्रमा पर्छ, त्यसतर्फ गम्भीर हुनुपर्छ ।’
कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको अनुदानबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सांसद केसीले त्यसबारे सदनलाई जानकारी दिन माग गरे ।
उनले किसानलाई समयमा मल उपलब्ध गराउन समयमै खरिद प्रक्रियाको तयारीबारे समेत ध्यानार्कषण गराए । उनले झण्डै आठ लाख मेट्रिक टनको मल आवश्यक भए पनि चार लाख मेट्रिक टन मात्र मल उपलब्ध हुने भन्दै किसान मर्कामा परेकोतर्फ समेत ध्यानार्कषण गराए ।