बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै आएका छन् स्याङ्जाका डिलबहादुर


वालिङ । स्याङ्जाका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् ।
उनले २०७० सालमा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेका छन् । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलोपटक बाख्राको दूधबाट चिज उत्पादन गरेका हुन् ।
गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् । तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एक दिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए ।
‘यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छु’, उनले भने, ‘चिजको माग उच्च छ, पुर्याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्न दुधालु बाख्रा थप्ने तयारीमा छु ।’
बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनले व्यावसायिक उत्पादन गर्न थालेको बताए । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए ।
विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएका थिए । त्यही सोचका साथ २०७० सालमा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो । ‘बाख्रा खरिद तथा खोर निर्माणमा ३ लाख ५० हजार लगानी गरेको थिएँ । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिएँ । हाल महिनामै सुरुको लगानी जस्तै आम्दानी गरिरहेको छु’, गुरुङले भने ।
नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताउँछन् । ‘केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उहाँले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ’, उनले भने ।