सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ :डा.कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए ।
उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’
त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे । उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।
उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।