सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

NepalOne १६ जेठ २०८२ १९:५२
राजनीति

काठमाडौँं, १६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अधिकारीको यही जेठ १३ गते ९४ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत आज उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व अधिकारीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।

स्व अधिकारीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्लामा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उहाँ कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो ।

विसं १९८८ मा भोजपुरको दिङ्गलामा जन्मनुभएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखनकार्यमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘आजको नेपाल’लगायत पुस्तक प्रकाशित छन् । उहाँको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।


प्रतिक्रिया