राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे नियुक्त

NepalOne २२ जेठ २०८२ १७:१०
खेलकुद

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् । नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

प्याट्रिक डे विल्डेले यसअघि पनि नेपालमा आफ्नो प्रशिक्षण कौशल प्रदर्शन गरिसकेका छन् । गत फागुनमा सम्पन्न तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा उनी काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको रूपमा कार्यरत थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त डे विल्डेले अन्तर्राष्ट्रिय फुटबलमा समेत समृद्ध अनुभव संगालेका छन् । उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए भने चीनको यू–२३ टोली र अल्जेरियाको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया