जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो छ : मन्त्री शाही

NepalOne २२ जेठ २०८२ २०:३१
राजनीति

काठमाडौँ, २२ जेठः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री शाहीले जलवायु अनुकूलन आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तीनै तहका सरकारले साझारुपमा जलवायु मैत्री विकास आयोजना अघि बढाउनुपर्छ, बढी कार्वन उत्सर्जन गर्ने राष्ट्रले जलवायु वित्त र प्रविधि हस्तान्तरणमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा जलवायु परितर्वनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिँदै मन्त्री शाहीले भन्नुभयो, “हाम्रा सेता हिमाल कालापहाडका रुपमा देखिन थालेका छन् । हिमाली जनजीवन, कृषि प्रणाली, जैविक विविधता र जलस्रोतमा असर पर्दै गइरहेको छ । केही समय अघि सगरमाथा संवाद आयोजना गरी यसबारे विश्वको ध्यानाकर्षण गराइएको छ ।”

नेपालसहित विश्वभर आज अन्तरराष्ट्रिय वातावरण दिवस मनाइएको जानकारी दिँदै मन्त्री शाहीले वातावरण स्वच्छता कायम गर्न नेपालमा ४० माइक्रोनभन्दा मुनिका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको बताउनुभयो । राससको तस्बिर प्रदर्शनीमार्फत नेपालका सम्पूर्ण हिमशृङ्खला र पर्यटकीयस्थलको झलक प्रस्तुत भएको उहाँको भनाइ थियो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।


प्रतिक्रिया