व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह


कैलाली, २२ जेठः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताउनुभयो । उहाँले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ ।”
सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रुपमा विकास गरिने उहाँले बताउनुभयो । राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गर्नुभयो ।
कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उहाँले बताउनुभयो । “अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन”, उहाँले भन्नुभयो ।