गोताखोर बेपत्ता घटनाबारे जानकारी लिन गृहमन्त्री सशस्त्र प्रहरी मुख्यालयमा


काठमाडौं । गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् ।
गृहमन्त्रीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्दारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे बिस्तृत रुपमा जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए ।
गृहमन्त्रीसँगै राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृहसचिव जयनारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका अधिकारिहरु समेत सहभागी थिए । गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालय बाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताए ।
खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्ने भन्दै उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।