सगरमाथा आरोहण–कीर्तिमानका साथै जेनन ग्यासको पहिलो प्रयोग

NepalOne २३ जेठ २०८२ १३:३२
अन्तर्वार्ता/बिचार

-राजु सिलवाल 
यस पटकको वसन्त ऋतुमा हिमाल आरोहण गर्ने याम सम्पन्न भई आरोहण टोलीहरु आधार शिविरबाट फर्के पनि आरोहणको चर्चा अझै सेलाएको छैन । हिमाल चढ्ने क्रममा विभिन्न सहासी पर्वतारोहीले स्थापित गरेका नौला कीर्तिमानले विश्वलाई नै चकित बनाएको थियो । त्यससँगै सहज तथा छिटो हिमाल आरोहणका लागि पहिलोपटक प्रयोग गरिएको भेटिएको जेनन ग्यासको सन्दर्भ पनि कम महत्वपूर्ण रहेन । अब नेपाल सरकारले नै यसबारे टुङ्गो लगाउने भएको छ ।

के हो जेनन ग्यासको सन्दर्भ ? 

विभिन्न अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीले कुनै शक्तिवद्र्धक प्रतिबन्धित औषधिको प्रयोग गरेको छ कि छैन भनी गरिने जाँच ‘डोपिङ परीक्षण’ कुनै नौलो होइन । पिसाब, रगत, पसिना आदिको नमूना परीक्षण गरी यस्तो जाँच गर्ने गरिएको छ । कैयौँ खेलाडीले जितिसकेको पदक पनि डोपिङ परीक्षणपछि खोसिएको उदाहरण छन् । सन् २००६ मा श्रीलङ्कामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले जितिसकेको दुईवटा स्वर्ण पदक डोपिङ परीक्षणमा खेलाडी असफल भएपछि खोसिएको थियो । यसैकारण नेपाली खेलाडीहरु लामो समय प्रतिबन्धमा समेत परेका थिए । नेपालको हिमालमा पनि पहिलोपटक यस्तै प्रयोग भएपछि विवादित भएको छ । बेलायतका चारजना पूर्वसैनिकको टोलीले हिमाल आरोहणका बेलामा त्यहाँको वातावरणसँग अभ्यस्त हुन उचाइमा गएर तल झर्दै गरिने अभ्यासै नगरी पाँच दिनमै सगरमाथाको सफल आरोहण गरेर फर्केपछि विवाद चुलिएको हो । आरोहीहरुलाई हिमालमा सहज हुन सहयोग गर्ने जेनन ग्यास उक्त आरोहण टोलीका सदस्यहरुले प्रयोग गरेका थिए । जेनन ग्यासले हिमाल आरोहणका क्रममा पर्वतारोहीहरुलाई बढी उचाइमा अभ्यस्त हुन र कम अक्सिजनको प्रभावलाई घटाउन सहयोग गर्दछ । यसको प्रयोगले बढी उचाइमा हुने गरेको दुखाइलाई कम गर्न पनि सहयोग गर्ने गर्दछ ।

जेनन ग्यासको प्रयोग भएको समाचार सार्वजनिक भएपछि यसबारे छानबिन हुनुपर्ने सम्बन्धित व्यवसायीहरुले माग गरेका छन् । लामो समयदेखि आरोहणमा संलग्न हँुदै आएका आरोहीहरुले समेत यसबारे अनभिज्ञता प्रकट गरेका छन् । यसपालि ३१औँ पटक सगरमाथाको शिखरमा पुगेका विश्व विख्यात आरोही कामिरिता शेर्पाले जेनन ग्यासको प्रयोगबारे आफूले पहिलोपटक सुनेको कुरा बताउनुभएको छ । यसैपटक १७औँ पटक सगरमाथाको शिखरमा पुग्न सफल आरोही फुर्वा तेन्जिङ शेर्पाले पनि जेनन ग्यास कस्तो हुन्छ आफूले अहिलेसम्म नदेखेको तथा यसको प्रयोग कसरी गरिन्छ थाहा नभएको जानकारी दिनुभयो ।

सगरमाथामा आरोहीले जेनन ग्यासको प्रयोग गरेको सम्बन्धमा नेपाल सरकारले पनि चासो देखाएको छ । सगरमाथामा सन् १९५३ देखि आरोहीहरुले लगातार सफलता पाउँदै आएको भए तापनि पहिलोपटक जेनन ग्यासको प्रयोग गरिएको जानकारी पाएपछि पर्यटन मन्त्रालयले यसबारे छानबिन गर्ने भएको हो । मन्त्रालयका अधिकारीले पर्वतारोहणसँग सम्बन्धित नेपाल पर्वतारोहण सङ्घ, नेपाल माउण्टेन एकेडेमी, सगरमाथा आरोही सङ्घजस्ता सङ्घसंस्थाका पदाधिकारीहरुसँग छलफल गरी जेनन ग्यासको प्रयोग मान्य हो कि होइन भनी नीतिगत निर्णय गर्ने पर्यटन विभागले जनाएको छ ।

यसपालि कतिले सगरमाथा चढे ?

वसन्त ऋतुमा विभिन्न मुलुकका ७२२ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसरी सफल आरोहण गर्नेहरुमा विभिन्न आरोहण टोलीका २८१ जना सदस्यहरु, ४३४ जना पथप्रदर्शकहरुका साथै सातजना सहयोगी शेर्पा रहेका छन् ।

दुःखद् निधन : यसपटक विभिन्न हिमालमा आरोहण गर्दा सात जनाको दुःखद निधन भएको थियो । यसैगरी, दुईजना हराइरहेका छन् । हिमालमा निधन भएकाहरुको शव सम्बन्धित मुलुकका अधिकारीहरुलाई हस्तान्तरण गर्ने कार्य भएको छ ।

नेपाल आएका आरोहीहरु : वसन्त ऋतुमा नेपालका विभिन्न २७ वटा हिमाल आरोहणका लागि ७३ वटा मुलुकका आरोहीहरु नेपाल आएका थिए । ती मुलुकका १२७ वटा आरोहण टोलीका एक हजार १६८ जनाले नेपाल सरकारबाट आरोहण अनुमति पाएका थिए । त्यसमध्ये ६७८ जना पुरुष तथा १९१ जना महिलाहरु थिए । आरोहण अनुमति पाएकाहरुमा सबैभन्दा बढी अमेरिकीहरु थिए । त्यसपछि चीन र भारतका आरोहीहरुको सङ्ख्या धेरै थियो ।

सगरमाथा चढ्न अनुमति पाएकाहरुः प्रत्येक वर्षको वसन्त ऋतुमा सगरमाथामा आरोहणका लागि चाप हुँदै आइरहेको छ । यसपटक विभिन्न ५७ देशका आरोहीहरु सगरमाथा आरोहणका लागि नेपालमा भेला भएका थिए । ४७ वटा आरोहण टोलीमा ४६८ ले सगरमाथा आरोहणको अनुमति पाएका थिए । यसमध्ये सबैभन्दा बढी अनुमति पाउनेहरुमा अमेरिकी थिए । त्यसपछि चीन र भारतका आरोहीहरुको सङ्ख्या बढी थियो ।

कति राजस्व सङ्कलन भयो ?

नेपालमा रहेका विभिन्न २७ वटा हिमालमा आरोहणका लागि विभिन्न मुलुकका पर्वतारोहण टोलीलाई आरोहण अनुमतिपत्र दिएबापत नेपाल सरकारले रु ७९ करोड ४७ लाख राजस्व सङ्कलन गरेको थियो । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु ६९ करोड १२ लाख सङ्कलन गरिएको थियो । आरोहण अनुमति दिइएका हिमालहरुमा सबैभन्दा कम एकजना पुरुष आरोहीले मात्र सार्फू चौथो हिमाल आरोहणका लागि अनुमति पाएका थिए ।

नयाँ हिमाल आरोहणका लागि खुल्लाः नेपाल सरकारले विभिन्न ५७ वटा थप हिमाल आरोहणका लागि खुल्ला गरेको थियो । ती हिमालहरु पाँचदेखि छ हजार मिटर उचाइका रहेका छन् । खुल्ला गरिएका हिमालहरु हुम्ला, डोल्पा, मुस्ताङ, दोलखा, रसुवा, सोलुखुम्बु, मुगु, गोरखा र  ताप्लेजुङ जिल्लामा रहेका छन् ।

सबैभन्दा धेरैपटक सगरमाथामाः विश्व विख्यात आरोही कामिरिता शेर्पा केवल राष्ट्रिय आरोही मात्र नभएर सगरमाथाको विश्वव्यापी प्रतीकका रुपमा समेत स्थापित भइसक्नु भएको छ । इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथामा सफल आरोहण गर्न सफल आरोही कामिरिता यसपालि  जेठ १३ गते बिहान ४ बजे  सगरमाथाको शिखरमा ३१औँ पटक पुग्नुभएको थियो । उहाँले विगत केही वर्षदेखि प्रत्येक वर्ष जसो सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने आरोहीको विश्व कीर्तिमान कायम गर्दै आइरहनुभएको छ । उहाँले यसअघि आठ हजार मिटरभन्दा अग्लो हिमालहरु ४५ पटक आरोहण गरिसक्नुभएको छ । भारतीय आर्मी एडभेन्चर विङ एभरेष्ट एक्सपिडिसनको सरदारका रुपमा यसपटक सगरमाथा जानुभएको शेर्पाले आफू मात्र शिखरमा नपुगेर टोलीका विभिन्न सदस्यहरुलाई आरोहण गर्ने कार्यको नेतृत्व गर्नुभएको थियो ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाका अनुसार यसपालिको वसन्त ऋतुमा हिमाल चढ्न सजिलो मौसम थिएन । अप्रत्याशित मौसमका कारण तेज हावा चल्नाका साथै भारी हिउँ पर्नाका साथै कडा चिसो थियो । उहाँले धैर्य, तयारी र आफ्नो शेर्पा टोलीको बलले ठूलो समूहलाई शिखरमा सुरक्षित रुपमा जान र फिर्ता हुन मार्ग निर्देशन गरेको जानकारी दिनुभयो । धैर्य, विश्वास र सामूहिक कार्यले असम्भवलाई पनि सम्भव बनाउने कीर्तिमानधारी शेर्पाको विश्वास रहेको छ ।

पासाङदावा पनि पछिपछि : यस वर्ष दुईपटक सगरमाथा चढ्न सफल पासाङदावा शेर्पाले सगरमाथामा २९औँ सफलता प्राप्त गरेर कीर्तिमानी कामिरिता शेर्पालाई पछ्याइरहनु भएको छ । उहाँले पहिलोपटक सन् १९९८ मा सगरमाथा चढ्नु भएको थियो । यस क्रममा शेर्पाले विभिन्न समयमा एकै वर्ष दुईपटक समेत सगरमाथाको शिखर चुम्न सफल हुनुभएको थियो । विभिन्न हिमालमा आरोहण अनुभव बटुलिसक्नुभएका उहाँले आमादब्लम हिमाल ४० पटक चढिसक्नुभएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेका पहिलो आरोहीः सगरमाथाको इतिहासमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गर्नु भएका पेम्बा शेर्पालाई पनि सगरमाथामा सफलता मिलेको छ । सोलुखुम्बुको दूधकोशी गाउँपालिकाका शेर्पा वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहनुभएको थियो । बिदामा नेपाल आउने क्रममा उहाँको मिर्गाैलामा समस्या देखिएको थियो । दुईवटै मिर्गौलाले काम नगरेपछि उहाँलाई प्रत्यारोपणका लागि आफ्नै बाबुले मिर्गाैला दान दिनुभएको थियो । मिर्गाैला प्रत्यारोपण गरेको २४ महिनापछि शेर्पाले छ हजार १९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गर्नुभएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा आर्जन गरेको रकम मिर्गौलाको उपचारमा खर्च गर्नुभएका शेर्पाले सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न व्यक्तिगत खर्चसमेत गर्नु परेको थियो । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिले अरू सरह सामान्य जीवन बिताउन सक्छन् भन्ने प्रवाह गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँको धारणा रहेको छ ।

पन्ध्र दिनमा चारपटक सफलताः सगरमाथा एकै पटक चढ्न पनि ज्यान जोखिममा राख्नुपर्दछ । आरोही तासी ग्याल्जेन शेर्पाले एउटै सिजनमा १५ दिनमा चारपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्नुभएको छ । उहाँ यसपालि रोप फिक्सिङ टोलीको सदस्य भई सगरमाथामा जानुभएको थियो भने त्यसपछि केही दिनको फरकमा उहाँ चारचोटि शिखर पुग्न सफल हुनुभएको छ ।

पूर्णिमालाई पाँचौँ सफलता : सगरमाथामा पाँचपटक आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अब हाम्रो पालो हो, केवल शिखरमा पुग्ने होइन, त्यो शिखरलाई जोगाउने पनि ।” सन् २०१८ मा पहिलोपटक सगरमाथामा सफलता प्राप्त गर्नुभएकी आरोही श्रेष्ठले गत वर्ष दुई हप्ताको समय अवधिमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले यो वर्ष सगरमाथामा सफलतालगत्तै अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक आरोहण गर्नुभएका स्वर्गीय मौरिस हर्जोगको परिवारसँग अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदयात्रा गर्न समेत भ्याउनुभयो । अन्नपूर्ण हिमालमा पहिलोपटक मानव पाइला पुगेको ७५ वर्ष पुगेको छ । पूर्णिमाले पनि सन् २०२१ मा अन्नपूर्ण प्रथम हिमालसहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसक्नु भएको छ ।

एकै परिवारको सफलताः  एउटै परिवारसँगै हिमालमा जानु त्यति सजिलो हुँदैन । विश्वको पाँचौँ अग्लो हिमाल मकालुमा एकै परिवारका चार दाजुभाइ र एक बहिनीले साथसाथै सफलता पाएका छन् । सङ्खुवासभाको एकै परिवारका आङदावा शेर्पा, मुक्तु लाक्पा शेर्पा, न्गिमा दोर्जी शेर्पा, पेचुम्बे शेर्पा र बहिनी पासाङ याङ्जी शेर्पाले एकै साथ चढेर पारिवारिक आरोहण अभियान सफलता प्राप्त गरेका छन् ।

सरकारले विगत वर्षहरु जस्तै सगरमाथाको आधार शिविरमा पर्वतारोहण अनुगमन तथा सहजीकरण कार्यालय खोलेर विभिन्न पर्वतारोहण दललाई कार्य सञ्चालनका लागि सहज बनाइदिएको थियो । मौसममा केही खराबी हुनुका साथै तीव्र हावा चले तापनि यसपालि सुरक्षित रुपमा आरोहण अभियानहरु सञ्चालन भएको तथा दुर्घटनाहरु कम भई मर्यादित तथा विवादरहित ढङ्गले आरोहण गतिविधि सञ्चालन भएको पर्यटन विभागले जनाएको छ । आगामी दिनमा आधार शिविरको अस्थायी फिल्ड अफिसलाई अझ सुविधासम्पन्न र व्यवस्थित बनाउन सके हजारौँ डलर तिरेर आरोहण अनुमति लिएका पर्वतारोहण टोलीहरुलाई अझ सुविधा प्रदान गर्न सकिन्थ्यो । हिमालबाट विश्वभर प्रवाह हुने सकारात्मक समाचारले नेपालको पर्यटन प्रवद्र्र्धनमा सहयोग पुग्न जाने अपेक्षा गर्न सकिन्छ ।

(लेखक पर्यटकीय पर्यटनका जानकार हुनुहुन्छ)


प्रतिक्रिया