सशस्त्र प्रहरीद्वारा वीरगंजमा कुखुराका चल्ला बरामद

NepalOne २४ जेठ २०८२ १३:५९
समाज

वीरगञ्ज। सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए ।

सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया