बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम


बागलुङ । झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैं कखरा सिक्दैछन् ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।
बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दैछन् । उनीहरु आफ्नो नाम लेख्न सक्षम भएका छन् ।
खहरेको वसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना भएका छन् ।
कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन् । १० जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिइन् ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उनीहरु साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउँछन् ।
छपन्न वर्षमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्की गाउँमा प्रौढकक्षामा आफूले पढ्न नपाएको भएपनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताउँछिन् ।
अहिले फोटो हेरेर फोन गर्छु उनले भनिन्, ‘अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ ।’ किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उहाँ धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित छन्।
लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर सङ्कटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताइन् ।
अक्षर नचिनेका आमाहरुलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउँछिन् । बालशिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उनले जानकारी दिइन् ।