नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व : मन्त्री गिरी

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व : मन्त्री गिरी

नेपालगन्ज / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सरकार आम नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।भेरी अस्पतालको निरीक्षणसँगै डायलाइसिस कक्षको आज उद्घाटन गर्नुहुँदै मन्त्री गिरीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

“नेपाल सरकारको प्रमुख उद्देश्य भनेकै सबैलाई सहज स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नु हो” उहाँले भन्नुभयो, “कुनै पनि नागरिकले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार लागिपरेको छ ।”भेरी अस्पताल नेपालगन्जको डायलाइसिस सेवा थप बिस्तार समेत गरिएको छ । डायलाइसिस कक्षमा यसअघि ६ बेड रहेकोमा अहिले बढाएर १० बेड पुर्‍याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईँले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले सरकारले संघीय अस्पतालको सेवा गुणस्तरीय बनाउन जनशक्ति व्यवस्थापनसँगै भौतिक संरचना सुधारको काम गर्दै आएको बताउनुभयो । उहाँले संघीय अस्पतालहरूलाई प्रविधिमैत्री बनाउन सरकार प्रयासरत रहेको पनि बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चापागाईँले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, डा.धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट लगायत उपस्थित हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बाँकेमा फैलिएको दादुरा महामारीको अवस्था र रोकथामबारे भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो ।

Reporter