सभामुख घिमिरेसँग राजदूत अब्देलघानीबीच भेट


काठमाडौँ, २१ जेठ : सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताउनुभयो । “नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकलाई हिमाल आरोहणका लागि हामी प्रोत्साहित गर्दछौँ”, उहाँले भन्नुभयो ।
सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबीच द्विपक्षीय श्रमसम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेषगरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताउनुभयो । “ठूलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा जोर्डनी जनता तथा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । श्रम आप्रवासनका क्षेत्रमा थप सहकार्य गर्ने सम्भावनाको खोजी गरिनुपर्छ भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो ।
सभामुखले नेपालमा हुने रासायनिक मल अभावका लागि जोर्डनसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै नेपालको कृषिजन्य उत्पादनलाई आफ्नो मुलुकमा लैजानका लागि सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराउनुभयो । उहाँले हाल नेपाल आर्थिक वृद्धिलाई तीव्र पार्न, दिगो विकास लक्ष्य हासिल गर्दै अल्पविकसित राष्ट्रबाट यथा समयमै स्तरोन्नति सुनिश्चित गर्न क्रियाशील रहेको बताउनुभयो ।
जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले दुई मुलुकबीच अन्तरराष्ट्रिय व्यापार सम्बन्ध वृद्धि गर्ने प्रचुर सम्भावना रहेको बताउँदै त्यसबाट दुवै मुलुकले फाइदा लिनसक्ने बताउनुभयो । उहाँले जोर्डनमा नेपाली कामदारलाई आफ्नो मुलुकले पारिश्रमिक र सामाजिक सुरक्षा सम्झौताबमोजिम प्रदान गरिरहेको जानकारी दिनुभयो । नेपाल र जोर्डनबीच १९६५ अगस्ट २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र सुदृढ रहेको बताउनुभयो ।