अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म…

NepalOne २१ जेठ २०८२ २१:१५
प्रमुख खबर

काठमाडौँ, २१ जेठ : सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ ? अब भने त्यस्तो टिकटमा रायोको साग, असला माछा, सुन्तलादेखि अछामे गाईसमेत देख्न पाइने भएको छ ।

हुलाक टिकट विभागले आजदेखि सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, भैँसी लिमे, पारकोटे आठ वटा रैथाने कृषिका आकृति र ब्रम्हलिन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण गरी नौ वटा नयाँ हुलाक टिकट आवरणमा प्रचलनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यी सबै प्रथम टिकट आवरणमा आज टाँचा लगाएसँगै यसको महत्त्व र आवश्यकतामाथि चर्चा गर्नुभयो ।

विभागमा केही महिनाअघि सञ्चारमन्त्री गुरूङले रायोको साग र लिमे भैँसीको गुणबारे निकै चर्चा गर्नुभएको थियो । आफू सानो छँदा भैँसी चराएका दिन अनि बारीमा छाता जस्तै ठूला पात भएका रायो साग खाएको क्षण निकै आनन्दित हुन्थ्यो भन्दै हुलाक सेवा विभागमा टिकट टाँचा लगाउने प्रसङ्ग सुनाउनुभएको थियो । उहाँले बाल्यकाल, साग र भैँसी चराउनुका अनुभव समयसँगै लोपोन्मुख हुँदै गएको प्रसङ्ग जोड्नुभएको थियो । लोपोन्मुख हुन लागेका यिनै रैथाने फलफूल, सागसब्जी, गाईभैँसी मात्रै नभई नेपालमा पाइने कलासंस्कृति र सम्पादहरूको संरक्षण गर्नुपर्ने जोड उहाँको छ ।

पछिल्लो समय लोपोन्मुख कला संस्कृति र सम्पादको संरक्षण गर्ने ऐतिहासिक दस्तावेजका रूपमा हुलाक टिकट भरपर्दो माध्यम बन्दै आएको छ । हुलाक सेवा विभागलाई मन्त्री गुरूङले दिनुभएको तिनै रैथाने बाली, वस्तु तथा सम्पदालाई महत्त्व दिएर आज नौ वटा हुलाक टिकटमा प्रथम आवरणमा टाँचा लगाएको हो ।

रैथाने कृषि आनुवंशिक स्रोतअन्तर्गत ‘लिमे भैँसी’ नेपालको स्थानीय जातका भैँसी हो । यो पश्चिम पहाडी भेगका जिल्ला कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी सङ्ख्यामा पाइने भएपनि नेपालको सबै पहाडी जिल्लामा पालिने गरेको हुलाक विभागका अधिकृत चन्द्रा थापाले बताउनुभयो । उहाँका अनुसार उक्त भैँसी कैलो रङको हुने र यसको छालाको रङ फिका खैरोदेखि कालोसम्मको हुन्छ । लिमेको दूध स्वादिलो तथा घृतांशको मात्रा बढी भएको हुनाले ग्रामीण क्षेत्रमा कृषकहरूले बढी मन पराएका छन् । यसका आँखी भौँ सेतो हुन्छन् । यसको चिउँडोमुनि र छाती वरपर हुने खैरो वा सेतो धर्से रौँ यिनीहरूको फरक छुट्याउने एक ठेट लक्षण रहेको उहाँले कार्यक्रममा उल्लेख गुर्नभयो । नेपालमा पहिचान भइसकेको भैँसीका नश्लहरूमध्ये लिमे भैँसीको शरीरको आकार र तौलका दृष्टिकोणले सबैभन्दा सानो नश्लको भैँसी हो रहेको छ । यो भैँसीको देशको सीमित क्षेत्रमा मात्र पालन गरिने भएकाले यसको क्षमताअनुसार संरक्षणका लागि ध्यान पुर्‍याउन आवश्यक छ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, अर्को टिकटको आवरण हो सुन्तला । नेपालमा परापूर्वकालदेखि नै खेती गरिँदै आएको रैथाने फल सुन्तला हाल नेपालको सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । सुन्तलाखेती नेपालको ६५ वटा जिल्लामा खेती गरिन्छ । हुलाक टिकटमा यसको फोटो राखेर राष्ट्रियस्तरमा प्रचारप्रसार गरी उत्पादन बढाउने र अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार गरी माग बढाउन सकिन्छ भन्ने हुलाक सेवा विभागको निष्र्कष छ ।

यसैगरी, लोपोन्मुख रैथाने कृषिमा परेको छ, पुत्का मौरी । पुत्का मौरी, मौरी प्रजातिमा पर्ने सबैभन्दा सानो आकारको मौरी हो । यी मौरीको शरीरमा खिल नहुनाले यसले अन्य मौरीले झैँ चिल्दैनन् । पथ्वीमा झण्डै ५०० यो प्रजातिका यी मौरीहरू पाइन्छन् । यी मौरीहरू संसारको उष्ण र उपोष्ण हावापानी पाइने क्षेत्रमा बसोबास गर्ने प्रजातिको मौरी हुन् । यी मौरीहरू वनजङ्गलका पुरानो धोद्रो मढुर रूखमा वा जमिनमनि गोला बनाई नेपालमा समुद्र सतहबाट हजार मिटर उचाइसम्मको क्षेत्रमा वसोबास गरेको पाइन्छ ।

पुत्का मौरी जलवाय परिवर्तनको प्रभावका कारण हजार मिटर उचाइभन्दा माथि पनि वसोवास गरेको भेटिन्छ । नेपालमा ‘मेलिपोना स्पेसिस्’ को पत्का मौरी पाइन्छ तर संरक्षणको अभावका कारण यो प्रजातिको मौरी लोपोन्मुख अवस्था रहेको छ । खासगरी नेपालको बाँके, बर्दिया र दाङ जिल्लामा पत्कामौरी पाइन्छ । मह उत्पादन कम भए पनि औषधिका रूपमा प्रयोग गर्न सकिने भएकाले यस मौरीको महको महत्त्व बढी छ ।

नेपालमा सरल र सर्वसुलभ रूपमा जहाँ पनि पाइने तरकारीका रूपमा रायोको सागको चर्चा बढाउन हुलाक टिकट विभागले हुलाक टिकट तयार पारेको छ । रायोको साग, बहुउपयोगी, स्वास्थ्यका लागि अनेकौँ फाइदैफाइदा भएको विशेष जाडो (हिउँद) महिनामा पाइने विभिन्न हरियो सागपातमध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो । यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म नै गर्न सकिन्छ । प्रायः नेपालका सबै किसिमको माटोमा गर्न तर तराई र मध्यपहाडमा यो हिउँदेबाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गरिन्छ । रायोको तरकारी औषधिय गुणले भरिपूर्ण हुन्छ । यसलाई उपभोग गर्दाजोर्नी र हड्डी बलियो बनाउँछ, भिटामिन प्रशस्तमात्रामा हुनाले, रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुनेक्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाका लागि रायोको साग लाभकारी हुन्छ । रायोको सागमा भिटामिन ए, सी र के प्रचुरमात्रामा, स्मरणशक्ति बढाउँछ, मुटु बलियो बनाउँछ, क्यान्सरबाट जोगाउँछ, डन्डीफोर कम गर्छ, गर्भवतीलाई लाभ गर्छ ।

त्यसैगरी अबदेखि हुलाक टिकटका रूपमा नौमुठे गाई (अछामे) पनि देख्न सकिन्छ । नेपालको राष्ट्रिय गाईलाई हिन्दूहरूको पहिचान, प्रतिष्ठा र सभ्यताको सङ्केतका रूपमा लिइन्छ । नेपालमा गाईका मुख्य नौ वटा प्रजातिमध्ये सात प्रजातिका गाई घरमा पालिन्छन् भने गौरीगाई र नीलगाई गरी दुई प्रजातीका गाई जङ्गलमा पाइन्छन् ।

घरमा पालिने गाईमध्ये गौरी गाई सबैभन्दा ठूलो प्रजाति हो भने नौमुठे गाई सबैभन्दा सानो प्रजाति हो । नौमुठे गाई उत्पत्तिस्थल अछाम जिल्लामा भएको मानिन्छ । त्यसैले यसलाई अछामी गाई पनि भनिन्छ । यस गाईलाई ‘नौ मुठे गाई’ भनिनुका कारण यसको उचाई लगभग नौ मुठी हुनु, हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने (करिब ८० सेन्टिमिटर) भएको भनिएको हुलाक सेवा विभागले जनाएको छ ।

भगवान् गोरक्षनाथले गौ संरक्षणका क्रममा अछामको देवीथुममा आइ सप्तऋषिहरूलाई पवित्र धार्मिक स्थल द्वादश ज्योतिर्लिङमध्येको वैद्यनाथ क्षेत्रमा नौमुठे गाईलाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकारी दिएको किंवदन्ती रहेको विभागको अध्ययनले प्रष्ट पारेको छ ।

यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा लिइने र यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दूध दिने गरेको विभागको अनुसन्धानले बताएको छ । धार्मिक पर्व तथा तीर्थ व्रतमा यसको दूधलाई विशेष रूपमा आवश्यक मानिन्छ । हाल यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ । सहरीकरण, बजारीकरण र आधुनिकीकरणले नौ मुठे गाईको सङ्ख्या दिनानुदिन घटिरहेको छ । अछामबाट तीव्र बसाइँसराइका कारण पनि नौमुठे गाई संरक्षणको अभावमा छ । उन्नत जातका गाईको विकासले गर्दा पनि नौ मुठे गाई संरक्षणको ओझेलमा पर्दै गएको छ ।

त्यसैगरी नेपालको हिमनदी तथा चिसो पनि बहने खोलामा असला माछाको पनि टिकट आवरण प्रचलनमा आएको छ । असला माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति पाइने गर्छ । नेपालमा ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म असला माछा पाइन्छ । असला माछा देश तथा विदेशमा पनि चर्चित छ । चर्चा र महत्त्व बढी भएकै कारण आलो माछा र सुकुटीको अत्यधिक माग बढेको छ । निकै स्वादिलो हुने भएकाले यसको माग बढेपछि यसको मूल्य पनि बढेको छ । अहिले ताजा माछाको प्रति किलो रू एक हजारभन्दा माथि र सुकुटी पारेकालाई प्रतिकिलो १० हजारसम्म छ । यो माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । विदेश पठाउनका लागि सुकुटीको माग धान्न गाह्रो परेको छ । सबैको रोजाइमा पर्न थालेसँगै खोलामा पाइने माछाको सङ्ख्यामा कमी आएको र जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि नदी तथा यसका सहायक नदीहरूमा माछा पाउन मुस्किल रहेको विभागले उल्लेख गरेकोछ ।

यत्तीमात्र होइन अब भने हुलाक टिकटमा खरी बाख्राको आवरण पनि हेर्न सकिन्छ । हुलाक सेवा विभागले खरी बाख्राको टिकट आवरण अनावरण गरेसँगै यसको महत्त्व र अवस्था उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगमा पाइने बाख्रालाई खरी बाख्रा भनिन्छ । यसलाई कतैकतै पहाड़ी बाख्रा वा औले बाख्रा पनि भनिन्छ । खरीबाख्रा पहाडी बाख्राभित्र पनि रङका आधारमा छ उपजाति वा उपप्रकार सेती, काली खैरी, घोर्ली, सिँगारी र धोबिनी रहेको छ ।

खरी जात नेपालको कूल बाखाको जनसङ्ख्याको ५० प्रतिशत बढी हिस्सा ओगटेको मानिन्छ । खरी बाख्रा फरकफरक रङका हुन्छन् । यो आकारमा सानो हुन्छ र यसलाई सामान्यतया पहाड़ी वा औले बाख्रा भनिन्छ । नेपालको पहाडी र भित्रीपहाडी क्षेत्रमा ३०० देखि एक हजार ५०० मिटरको उचाइमा पालिन्छ । आवश्यक बोकाको शारीरिक तौल ४० देखि ४५ केजी तथा बाख्रीको २५ देखि ३५ केजीसम्म हुन्छ । यी जातहरूले औसत १६ महिनामा पहिलो बच्चा जन्माउन सक्छन् र दुई वर्षको अन्तरालमा तीन पटक जन्म दिनसक्छ ।

आम किसान विदेशी बाख्रा भन्दैमा राम्रो हुन्छ भन्ने मानसिकताका नेपालमा पाइने रैथाने बाख्राको सङ्ख्या घट्दै गएको छ । “व्यावसायिक बाख्रापालनमा क्रस ब्रिडिङ गराउनेक्रम बढेकाले रैथाने बीउ हराउने खतरा बढ्दै गएको छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएको र स्वादिलो मासुका लागि परिचित रैथाने बाख्राको बीउ कालान्तरमा अभाव हुनेतर्फ सचेत हुनुपर्छ,” विभागले भनेको छ ।

विभागका अनुसार खरी बाख्रामा रोगसँग लड्नसक्ने क्षमता बढी र कठोर हावापानीमा अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्नसक्ने विषेशतार खाँदासमेत स्वादिलो हुन्छ । परम्परागत चरन व्यवस्थामा यो बाख्रापालन गर्न सकिन्छ । नेपालको हावापानी सुहाउँदो, उत्पादन खर्च कम लाग्ने यो रैथाने बाख्राको संरक्षण गर्न आवश्यक छ । हुलाक टिकेटमा खरी बाख्राको छाप राखेमा आम बाख्रा पाल्ने किसानलाई खरी जातको बाख्रापालनमा ध्यनाकर्षण हुने विभागको धारणा छ ।

यसैगरी अर्को मुलुकको तल्लोदेखि उच्च पहाडमा पाइने पारकोटे भैँसी पनि हुलाक टिकटमा पाइनेछ । यसको महत्त्व महसुस गर्दै आज हुलाक टिकट सार्वजनिक गरिएको हो । पारकोटे भैँसीहरू मुलुकको तल्लोदेखि उच्च पहाडभर छरिएर रहेका छन् भने मुख्यगरी मध्यपहाडमा बढीमात्रामा पाउन सकिन्छ ।

पारकोटे भैँसी मुख्यतः कालो रङको हुन्छ तर कहिलेकाहीँ खैरो र फिका खैरो रङमा पनि पाइन्छ । यो भैँसी लाम्चो अनुहार र चेप्टो टाउको भएको हुन्छ । सिंङ तरवार आकारको र शरीरको पछिल्लो भागतिर फर्केको हुन्छ । यसको मध्य कद र शरीरको लम्बाइ लिमेको दाजोमा अलि वढी हुन्छ । यसको शरीरमा कुनै पाटा वा धर्सा हुँदैन । यसको थुतुनो वा मुख कालो हुन्छ । यो नश्लका भैँसीहरूको शारीरिक लम्बाइ, काँधको उँचाइ, अस्थीको उँचाइ र छातीको गोलाई सरदर १२७ सेमी, १२४ सेमी, ११९ सेमी र १७७ सेमी पाइएको छ । यो भैँसीको शारीरिक तौल सरदर ४०७ केजी पाइएको छ । यो भैँसीको स्वभाव अर्ध–उदण्ड किसिमको हुने गर्छ ।

त्यसैगरी ब्रम्हलिन राष्ट्रशन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण समेट हुलाक टिकटका रूपमा टाँचा प्रदान गरिएको छ । विसं १९९४ बागलुङमा जन्मिनुभएका महाराजले हिन्दूधर्म संस्कृति संरक्षणमा दिएको योगदान प्रशंसनीय रहेको हुँदा हुलाक टिकटमार्फत सम्मान प्रदान गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो । महाराजले आफ्नो जीवनकालमा नेपालका विभिन्न ४० वटा जिल्लामा आश्रम गुरूकुल, मठमन्दिर विद्यालयको स्थापना र स्तरवृद्धि स्थापना गरिएका धार्मिक तथा शैक्षिक संरचनाहरू निर्माण गर्नुभएको छ ।

पहिचान र संस्कृति एवं सम्पदालाई समेट्नेगरी विभागले तयार गरेको हुलाक टिकटमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरूङले टाँचा लगाउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक विभागले राजनीतिक विषयबाहेकका अझै ओझेलमा परेका संस्कृति, सम्पदा, जनजीवन समेटिने रैथाने वस्तुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट आफैँमा ऐतिहासिक दस्तावेज भएकाले यस्ता लोपोन्मुख रैथाने संस्कृतिको संरक्षण गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो । महानिर्देशक पङ्गेनीले हुलाक टिकटमार्फत हराएकालाई संरक्षण, लुकेकालाई प्रचार र विभूतिलाई सम्मान गर्ने कार्यमा अग्रसर रहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया