मानव बेचविखन अनुसन्धान व्युरोद्धारा भारतबाट १२ जना महिलाहरुलाई उद्दार


काठमाडौँ / नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १२ जना महिलाहरूलाई भारतबाट उद्धार गरेको छ । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मङ्सिर र पुस महिनामा भारत पुराई दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरूलाई उद्धार गरिएको जनाएको हो ।
निज महिलाहरू मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न ब्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको सहकार्यमा उनीहरूको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलि लगायतका नाकाहरू प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
मानव बेचबिखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरूको पहिचान गरी खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । त्यस्तै ब्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्धार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रिकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्धार गरिएको ब्युरोका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयादिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।